एजेन्सी– इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टरले ऐतिहासिक जित निकालेको छ। शुक्रबार भएको खेलमा लेस्टरले साउथह्याम्पटनलाइ उसैको घरेलु मैदानमा ९–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।
गएराति लेस्टरले निकालेको जित प्रिमियर लिगको इतिहासमै सबैभन्दा फराकिलो अवे जित हो। त्यससँगै लेस्टरले प्रिमियर लिगको इतिहासमा फराकिलो जितको किर्तिमान पनि बराबरी गरेको छ। यसअघि म्यानचेस्टर युनाइटेडले इप्स्वीचलाई ९–० ले नै हराएको थियो।
पाहुना टोली लेस्टरले खेलको १० औं मिनेटमै अग्रता बनाएको थियो। बेन चिल्वेलले लेस्टरको लागि पहिलो गोल गरेका थिए। डिफेन्डर रायन बर्टरान्ड रातो कार्ड खाएर मैदान बाहिरपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो। आक्रामक खेलेको लेस्टरले युरी टिलेमान्सको गोलमा अग्रता दोब्बर बनायो।
त्यस्तै अयोजे पेरेजले अग्रता तेब्बर बनाए। उनले युरी टिलेमान्सको पासमा गोल गरेका थिए। ३९ औं मिनेटमा पेरेजले गोल गर्दा लेस्टरले खेलमा ४ गोलको अग्रता बनायो भने पहिलो हाफको अन्तिम मिनेटमा भार्डीले गोल गर्दा लेस्टर खेलमा ५–० को बलियो स्थितिमा पुगेको थियो।
गोलको वर्षा गर्ने क्रममा दोस्रो हाफको ५७ औं मिनेटमा पेरेजल ह्याट्रिक पूरा गरे। लगत्तै भार्डीले चिल्वेलकै पासमा आफ्नो व्यक्तिगत दोस्रो गोल गरे। ८५ औं मिनेटमा जेम्स म्याडिसनले फ्रिकिकमा र भार्डीले इन्ज्युरी समयमा पेनाल्टीमा गाेल गर्दा लेस्टरले ऐतिहासिक जित हात पारेको हो।
जितसँगै लेस्टर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लेस्टरले १० खेलमा २० अंक जोडेको छ। साउथह्याम्पटन भने १० खेलमा ८ अंकसहित १८ औं स्थानमा छ।