चितवन– भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन निर्माणको काम सकिएको छ। अब उक्त पाइपलाइनलाई चितवनसम्म ल्याइने भएको छ।
अमलेखगञ्जदेखि पाइपलाइन अब चितवनको लोथरसम्म बिस्तार गरिने नेपाल आयल निगमले जनाएको छ। त्यस्तै मोतिहारीदेखि चितवनसम्म बेग्लै एलपिजी ग्यासको पाइपलाइन पनि बन्ने भएको छ।
उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले शनिबार अमलेखगञ्ज पुगेर उक्त कार्यको थालनी गरेका छन्। निगमले पाइपलाइन निर्माण भएपछि प्रतिघण्टा पेट्रोलियम पदार्थ २९० किलोलिटर ढुवानी गर्न सकिने बताएको छ। करिब एक सय टन प्रतिघण्टा ग्यास ढुवानी हुनेछ।
लोथरमा पेट्रोलियम पदार्थ एक लाख किलोलिटर र २० हजार मेक्ट्रिकटन ग्यास भण्डारण क्षमताको ठाउँ बनाइने निगमले जानकारी दिएको छ। त्यस्तै पेट्रोलियम पाइपलाइन निर्माणमा करिब पाँच अर्ब रूपैंया र भण्डारण ठाउँ निर्माणमा चार अर्ब रूपैंयाभन्दा बढी लगानी लाग्ने बताइएको छ।