एजेन्सी– बुन्डेस लिगामा बायर्न म्युनिखले पाचौँ जित निकालेको छ। शनिबार भएको खेलमा म्युनिखले युनियन बर्लिनलाई २–१ को गोलअन्तरले हराएको हो।
बार्यनलाई खेल जिताउन गोल गरेका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले व्यक्तिगत किर्तिमान रचेका छन्। उनी बुन्डेसलिगा सिजनको सुरुवाती ९ खेलमा लगातार गोल गर्ने खेलाडी बनेका हुन्।
बार्यनले खेलको १३ औं मिनेटमा अग्रता बनाएको थियो। बार्यनका लागि खेलको पहिलो गोल बेन्जामिन पाभार्डले गरेका थिए। पहिलो हाफमा १ मात्र गोल गरेका कार्यनले दोस्रो हाफमा थप १ गोल गरेको थियो भने बर्लिनले १ गोल गरेको थियो।
दोस्रो हाफको ५३ औं मिनेटमा लेवान्डोस्कीले किर्तिमानी गोल गर्दा बार्यनले अग्रता दोब्ब्र बनाएको थियो। खेलको ८६ औं मिनेटमा बर्लिनका सबास्टियन पोलारले पेनाल्टीबाट गोल गरेका थिए। त्यसपछि अन्य गोल नहुँदा बार्यनले खेल २–१ ले जितेको हो।
जितसँगै बायर्न अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बायर्नको ९ खेलमा १९ अंक छ भने दोस्रो स्थानको फ्राइबर्गको १७ अंक छ। डर्टमुन्ड शनिबार साल्केसँग गोलरहित बराबरीमा रोकिँदा ९ खेलमा १६ अंकसहित तेस्रो स्थानमा छ।
जारी सिजनमा बार्यनका खेलाडी लेवान्डोस्की उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनी सन् २०१९ मा खेलेका ३७ खेलमा ३७ नै गोल गर्न सफल भएका छन्। अहिलेसम्मको स्थितिमा उनी जारी सिजनमा १४ खेलमा १९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन्। विपक्षी टिमलाई उनको प्रदर्शन टाउको दुखाइको विषय बनेको छ।