काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानबाट स्वदेश फर्किएका छन्। उनी स्वदेशको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्दै गर्दा अन्य विमानको उडान प्रभावित भएको थियो।
केहीबेर उडान अवतरण बन्द भएपछि केहि यात्रुहरु आक्रोशित भएका छन्। यात्रुहरु राखेर रनवेतर्फ जाँदै गरेको एक जहाजको इन्जिन नै बन्द गर्न निर्देशन दिइएपछि आक्रोशित यात्रुहरुले ओर्लिएर विरोध पनि जनाए। स्थिति असामान्य भएपछि प्रहरी नै घटनास्थल पुगेको थियो। स्राेतका अनुसार काठमाडौंबाट भद्रपुरको उडान भर्न लागेको एसएचए ९४१ कलसाइनको विमानका यात्रुहरुले भीभीआईपी उडानका कारण दुःख पाएको भन्दै ओर्लिएर विरोध जनाएका थिए।
उक्त घटनाको विषयमा विमानस्थल प्रशासनले आफ्नो प्रतिक्रिया दिएको छ। प्रशासनले ‘नोटाम’ जारी गरिएको समयमा भीभीआईपी उडानलाई असर नपरोस् भनेर केहीबेर विमान उड्न रोकिएको र घटना सामान्य भएको बताएको छ। विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको फिर्ती सवारी क्रममा भीभीआईपी मुभमेन्ट प्रभावित नहोस् भनेर श्री एयरलाइन्सको विमान रोकिएको थियो। विमानस्थलले पहिल्यै नोटाम जारी गरिसकेको र घटना सामान्य भएको उनले बताए।
श्री एयरलाइन्सको हवाई जहाज उड्नका लागि ठीक्क थियो । यात्रुहरुलाई बोर्डिङ पास दिएर हवाई जहाजतर्फ पठाइयो। यात्रुहरु बसिसकेपछि पाइलटले इन्जिन पनि स्टार्ट गरे। तर, भीभीआईपीको आगमन भन्दै नउड्न निर्देशन आयो। त्यसपछि पाइलटले हवाई जहाजको इन्जिन बन्द गरेको बताइएको छ।
लामो समय विमान उड्ने प्रतिक्षा गरेका यात्रुहरु आक्रोशित भए। उनीहरु जहाज उडाउन विमानका कर्मचारीलाई आग्रह गर्थे, तर माथिको आदेश भन्दै कर्मचारीहरु धैर्य गर्न आग्रह गर्थे। यसैक्रममा हवाई जहाजका कर्मचारी र यात्रुहरुबीच भनाभन पनि भएको थियो।