एजेन्सी– अष्ट्रेलिया भ्रमणमा रहेको श्रीलंकाले अष्ट्रेलियासँग लज्जास्पद हार बेहोरेको छ। भ्रमणको पहिलो टी–२० क्रिकेटमा अष्ट्रेलियाले श्रीलंकालाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
२ सय ३४ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रनमा समेटियो। श्रीलंकाको लागि दासुन शनाकाले सर्वाधिक १७ रन, कुशल पेरेराले १६ रन बनाए। अष्ट्रेलियाको बलिङमा आदम ज्याम्पाले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए। मचेल स्टार्क र पट क्युमिन्सले समान २–२ विकेट हात पारे।
त्यसअघि टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो। अष्ट्रेलियाको पारीमा डेविन वार्नरले शतक प्रहार गरे। विष्फोटक ब्याटिङ गरेका वार्नरले ५६ बलमा एक सय रन बनाएका थिए। उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए।
त्यस्तै ग्नेन म्याक्सवेलले २८ बलको सामना गर्दै रन ६२ रनको अर्धशतीय पारी खेले। त्यसक्रममा उनले ७ चौका र ३ छक्का हानेका थिए। अर्का ब्याट्सम्यान कप्तान आरोन फिन्चले ३६ बलमा ८ चौका र ३ छक्काको मद्धतमा ६४ रन बनाएका थिए।श्रीलंकाको बलिङमा लक्षण सन्कदनले ४ ओभरमा ४१ रन खर्चिएर १ विकेट लिए। अन्य कुनै बलरले विकेट हात पार्न सकेनन्।