एजेन्सी– इस्लामिक स्टेटका प्रमुख नेता अबु अबर अल–बग्दादी सैन्य आक्रमणमा मारिएको बताइएको छ। सरियाको उत्तर–पश्चिम भागमा संचालन भएको सैन्य कारबाहीमा उनलाई मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सीएनएनका अनुसार एक वरिष्ठ अमेरिकी सैन्य अधिकारी र सैन्य कारबाहीबारे जानकार स्रोतले यो घटनाबारे बताएको भनी समाचार सम्प्रेषण गरेको छ भने अमेरिकी मिडियाले पनि घटनाबारे जानकारी दिएका छन्।
सैन्य कारबाहीको क्रममा अमेरिकी सुरक्षाकर्मी र बग्दादीबीच जम्काभेट भएको र त्यसपछि बग्दादीले आफूले लगाइरहेको आत्मघाती बम विस्फोट गरेको सुरक्षा अधिकारीले जानकारी दिएका छन्।
अमेरिकी सेनाको स्पेशल अपरेसन कमाण्डोले सञ्चालन गरेको टोलीले अल–बग्दादी लुकेको स्थान पत्ता लगाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्वीट गर्दै, ‘भर्खरै एक ठूलो घटना भएको छ।’ लेखेका थिए। सञ्चार माध्यमले ट्रम्पको ट्वीट सोहि घटनाप्रति लक्षित रहेको अनुमान गरेका छन्।
अमेरिकी अधिकारीहरु अहिले डीएनए परिक्षणमार्फत शव अल–बग्दादीकै हो होइन पुष्टि गर्न लागेका छन्। इस्लामिक उग्रवादी संगठन आईएसका नेता अल–बग्दादी विगत पाँच वर्षदेखि भूमिगत छन्।
यसअघि पनि बग्दादीको मृत्युको हल्ला चलेपछि अप्रिलमा आईएसको मिडिया शाखाले बग्दादीको एक भिडियो सार्वजनिक गरेको थियो। अप्रिलको भिडियो सन् २०१४ जुलाईपछि सार्वजनिक दोस्रो भिडियो थियो।