काठमाडौं– कात्तिकको १५ गतेबाट रिलिज हुने तयारी मा रहेको चलचित्र ‘बादशाह जुट’ को निकै चर्चा हुन थालेको छ। यो चलचित्रले २ यूवाको वादशाह बन्ने सपनालाई प्रस्तुत गरेको छ। जोनी सिंह राणाको निर्देशनमा तयार भएको चलचित्रको शिर्ष भूमिकामा सुशिल श्रेष्ठ र आमिर गौतम छन्।
चलचित्रमा सुशिल पत्रकारको भूमिकामा छन् भने आमिर सिपाहीको भूमिकामा छन्। तर, यी दुबैको सपना भने आफ्नो क्षेत्रमा बादशाह बन्नेछ। सुशिलले यसपटक आफू फरक र रमाइलो भूमिकामा देखिएको बताएका छन्। यो चलचित्रका लागि उनले १२ केजी तौल समेत घटाएका छन्।
यस्तै, अर्का कलाकार आमिर गौतमले पनि रमाइलो तरिकाले चलचित्र प्रस्तुत गरिएको भन्दै दर्शकलाई दिक्क नलाग्ने सुनाए। चलचित्रमा केइसा राउतको पनि मुख्य भूमिका रहेको छ। केइसा चलचित्रमा आफू सो पिसको रुपमा मात्र नदेखिएको दाबी गर्छिन्।
केइसालाई चलचित्रमा सुशिलको जोडीको रुपमा हेर्न पाइनेछ भने आमिरको जोडीको रुपमा रोशी खड्काले काम गरेकी छिन्। रिलिजको डेट नजिकिंदा निर्माण टिम निकै उत्साहित देखिन्छ।