झापा– नारी सञ्चार गृह झापाले पत्रकार महिलाको क्षमता अभिवृद्धि र उनीहरुलाई पेशामा टिकाइरहनका लागि पुरस्कार वितरण गर्ने उद्देश्यले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि देउसी भैलो खेल्न शुरु गरेको छ। संस्थाले गत वर्षदेखि जिल्लाका विभिन्न स्थानमा परम्परागत संस्कार र संस्कृतिको जर्गेना गर्दै अक्षयकोष वृद्धिका लागि देउसी भैलो खेल्न शुरु गरेको हो।
वि.सं २०६९ मा स्थापना भएकोे संस्थाले गत वर्ष स्थापना गरेको अक्षय कोषमा रु आठ लाख जम्मा गरिसकेको छ। रु २५ लाखको कोष बनाउने उद्देश्यले स्थापना गरेको अक्षयकोष वृद्धिका लागि विभिन्न संघसंस्थाले समेत सहयोग प्रदान गर्दै आएको संस्थाकी उपाध्यक्ष भीमा शिवाकोटीले बताइन्।
भद्रपुर नगरपालिकास्थित प्रदेश सांसद ओम सरावगीको घरबाट संस्थाले शनिबारदेखि देउसी शुरु गरेको छ। देउसीको उद्घाटन नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले गर्नुभएको थियो। देउसीमा स्थानीय क्षेत्रका साहित्यकार र पत्रकारहरुको उपस्थिति रहेको थियो। रासस