काठमाडाैं– नेपाली काङ्ग्रेसले केही सञ्चारमाध्यमले ‘जुवा खालबाट पक्राउ’ सम्बन्धी समाचारमा बिनाआधार पूर्वगृहराज्यमन्त्री एवम पार्टीका नेता इन्द्रबहादुर बानियाँको नाम उल्लेख गरेको भन्दै आपत्ति जनाएको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सत्यतथ्य नबुझी कुनै पनि व्यक्तिको इज्जत प्रतिष्ठामा आँच आउने गरी समाचारमा नाम उल्लेख गर्नु दुःखद भएकाे बताएका छन्। साथै उनले तथ्यमा आधारित भएर समाचार प्रकाशन गर्न आग्रह गरेका छन्। प्रवक्ता शर्माले यस्ता घटनाको कानूनी उपचारमा नजाने भए पनि सम्बन्धित व्यक्ति कानूनी उपचारमा जाने विषयलाई भने पार्टीले सकारात्मक रुपमा लिने बताए।
पत्रकार सम्मेलनमा प्रदेश नं ३ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका बानियाँले सत्यतथ्य नबुझी समाचारमा नाम उल्लेख गर्दा आफ्नो चरित्रहत्या गर्ने काम भएको बताए। उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले कुनै सञ्चारमाध्यमको गल्ती र कमजोरीका कारण सम्पूर्ण सञ्चारजगतले नै विश्वास गुमाउने अवस्था सिर्जना हुने बताएका छन्।
नेता बानियाँले उक्त सञ्चारमाध्यमलाई सो गल्ती सच्याउन आग्रह गर्दै अन्य सञ्चारमाध्यमले समेत सत्यतथ्य नबुझी सो समाचार नक्कल गरेकामा दुःख व्यक्त गरे। रासस