तनहुँ– विदेशी संस्थाको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा महिलाद्वारा सञ्चालित सहकारी भवन निर्माण गरिएको छ। योङ लिभिङ फाउण्डेशनको सहयोगमा उक्त नगरपालिका–६ खैरेनीटारस्थित खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी भवन निर्माण गरिएको हो।
महिलाहरूद्वारा सञ्चालित सहकारीबाट प्रभावित भएर रु ६० लाखको लागतमा उक्त भवन निर्माण गरिएको उक्त फाउण्डेशनका नेपाल निर्देशक सुवास सिंहले जानकारी दिए। उनका अनुसार फाउण्डेशनले जिल्लामा १६ वटा विद्यालय, वृद्धाश्रम, आमा समूह र महिला सहकारीको भवन बनाउने सम्झौता गरेकामा शुक्लागण्डकी नगरपालिकामा ९ विद्यालय, एक वृद्धाश्रम, आमा समूह र महिला सहकारी भवनका साथै म्याग्दे गाउँपालिकामा तीन, बन्दीपुर गाउँपालिकामा एक, आँबुखैरनी गाउँपालिकामा तीन विद्यालय भवन बनाइने भएको छ।
सबै भवन निर्माणका लागि रु दश करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ। गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले उक्त भवनको साँचो सहकारीका अध्यक्ष सूर्यकला ढकाललाई हस्तान्तरण गरेका छन्। अमेरिकाका डा गेरी योङले सन् २००९ मा स्थापना गर्नुभएको उक्त फाउण्डेसनले विभिन्न मुलुकमा सेवा गर्दै आइरहेको र यसमा अधिकांश मुलुकका ३० लाखभन्दा बढी सदस्य छन्। विश्वका गरीब र विकासोन्मुख मुलुकमा फाउण्डेसनका स्वयंसेवी सदस्य पुगेर सहयोग गर्दै आइरहेका छन्।
वि.सं २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि क्षतिग्रस्त भएका संरचना पुनःनिर्माणमा सघाउन उक्त फाउण्डेशन नेपालमा प्रवेश गरेकोे थियो। वि.सं २०७३ मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग रु नौ करोड बराबरको रकम पुनःनिर्माणमा खर्च गर्ने सम्झौता गरेको सो फाउण्डेशनले दुई वर्षको अवधिमा ९९ घर र एउटा विद्यालय निर्माण गरी हस्तान्तरण गरिसकेको छ। (रासस)