एजेन्सी– कुर्दिश नेतृत्वको सिरियन डेमोक्र्या्टिक फोर्सेस (एसडीएफ) ले इस्लामिक स्टेट समूहका नेता अबु बकर अल–बग्दादी मारिनुअघि पहिचान गर्न डीएनए जाँचका निम्ति उनको भित्रीवस्त्र आफ्ना जासुसले चोरेको जनाएको छ।
एसडीएफका एक वरिष्ठ कमाण्डरले अमेरिकी सेनाको कारबाहीअघि आईएसका नेता बसिरहेको ठाउँ पत्ता लगाउन आफूहरूको स्रोतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे।
शनिवार उत्तरी सिरियामा अमेरिकी सेनाको कारबाहीका क्रममा बग्दादीले ‘सुसाइड भेस्ट’ आत्मघाती विस्फोट गराई आफ्नो ज्यान लिएका थिए। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कुर्दिश फौजको भूमिकालाई खासै स्वीकारेका छैनन्।
भूमिका
अक्टोबर २७ को सैन्य कारबाहीबारे घोषणा गर्दा ट्रम्पले कुर्दहरूले महत्त्वपूर्ण सूचना उपलब्ध गराएको बताएका थिए। यद्यपि सैन्य कारबाहीमा उनीहरूको कुनै भूमिका नरहेको उनले बताए। तर कमाण्डर पोलाट क्यानले सामाजिक सञ्जाल ट्विटरमा सोमवार गरेका पोस्टहरूमा अमेरिकी सैन्य कारबाहीमा एसडीएफले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।
–अमेरिकी फौजद्वारा इस्लामिक स्टेटका प्रमुख मारिएको ट्रम्पद्वारा घोषणा
–अबु बकर अल–बग्दादीः ‘आईएस प्रमुखविरुद्ध अमेरिकी कारबाही’
–अल–बग्दादी मारिएपनि इस्लामिक स्टेटविरुद्धको लडाइँ बाँकी
उनले भनेका छन्, “सबै जासुसी र बग्दादीसम्म पहुँचका साथै उनी बसिरहेको स्थानको पहिचानमा हाम्रै भूमिका रह्यो। बम खसाल्न ठाउँ देखाउने, सहभागी हुने र कारबाहीलाई सफल पार्ने कुरामा अन्तिम समयसम्म हाम्रो गुप्तचर स्रोतको सहभागिता रह्यो।’’
बग्दादी भएको ठाउँ पत्ता लगाउने कामका लागि एसडिएफले मे १५ तारिखदेखि नै सीआईएसँग सहकार्य गरेको क्यानले बताए।
कारबाहीबारे के छन् जानकारी?
टर्की, इराक, रुस र उत्तर पूर्वी सिरियास्थित कुर्दिश फौज लगायतका अमेरिकी साझेदारहरूलाई सैन्य कारबाहीबारे जानकारी गराइएको थियो। भागेर एउटा सुरुङभित्र छिरेका अल–बग्दादीलाई अमेरिकी सैनिकले बाहिर आउन र आत्मसमर्पण गर्न भने। तर अल–बग्दादीले आत्मघाती विस्फोट गराई आफूसँगै छोराछोरीको ज्यान लिए।
त्यसपछि उनका शरीरका अवशेषहरूको परीक्षणबाट उनी मारिएको पुष्टि भएको राष्ट्रपति ट्रम्पले बताएका थिए। सोमवार अमेरिकी सेनाले इस्लामिक स्टेटका नेता अबु बकर अल–बग्दादीको शरीरका अवशेषहरूको व्यवस्थापन गरिएको जनाएको थियो। यद्यपि कहाँ र कसरी व्यवस्थापन गरियो भन्नेबारे सेनाले केही बताएन।
पेन्टागनमा आयोजित एउटा पत्रकार सम्मेलनमा रक्षामन्त्री मार्क एस्परले यस समयको सबैभन्दा जघन्यमध्येका अपराधका लागि अल–बग्दादी जिम्मेवार रहेको बताए। यसअघि सन् २०११ मा पाकिस्तानमा मारिएका अल–कायदा प्रमुख ओसामा बिन लादेनको शव समुद्रमा फालिएको थियो।
को थिए अल–बग्दादी?
आईएसका नेता अल–बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे। सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो।
बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोही योद्धाका रूपमा कुख्यात थिए। सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो।
विवरणहरूका अनुसार अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीको एक मस्जिदमा धर्मगुरु थिए। कतिपयका अनुसार सद्दाम हुसैनको शासन ताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए।
अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि बग्दादी कट्टरपन्थी भएर निस्किए। सो शिविरमा कैयौँ अलःकायदा कमाण्डरहरूलाई राखिएको थियो।
सन् २०१० मा बग्दादी इराकमा अल कायदाको नेताका रूपमा उदाए। आइएसमा पछि सो समूह समाहित भएको थियो। सिरियाको अल–नुसरा गुटसँग जोडिने प्रयास भइरहेका बेला बग्दादी सङ्गठनको उच्च नेतृत्वमा उदाए। यसै वर्षको शुरूमा आईएसले बग्दादी भनेर चिनाउँदै एउटा भिडिओ सार्वजनिक गरेको थियो।
त्योभन्दा अगाडि सन् २०१४ देखि नै बग्दादीलाई यसरी सार्वजनिक देखिएको थिएन। त्यतिखेर बग्दादीले मोसुलमा बोल्दै सिरिया र इराकका भूभाग समेटेर ‘क्यालिफेट’ निर्माणको घोषणा गरेका थिए।बीबीसी