राजविराज– छठ पर्व शुरु भएसँगै सप्तरीको डोम समुदाय यतिबेला बाँस र बेतका चोया बनाउनमा व्यस्त रहेका छन्। तराई मधेसको महान् छठ पर्वको लागि अहिले डोम समुदायले भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन्।
छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन अहिले भ्याइनभ्याइ भएको हनुमाननगर कंकालनी नगरपालिका १ का दिलीप मरिक(डोम)ले बताए। गाँस, बाँस र कपासकै जोरजाममा पिँढीदर पिँढीलाई हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महीनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य पाउने गरेको उनकाे भनाइ छ।
छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवतालाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्ने भएकाले अहिले डोम समुदायको आम्दानी राम्रो हुँदै गएको छ।
सप्तरी सदरमुकाम राजविराजलगायतका बिभिन्न ठाउँमा अहिले डालो, नाङ्लो र टालु टपरीलगायतका समानहरु डोम समुदाय बिक्री वितरण गर्नमा ब्यस्त देखिएका छन्। अहिले जिल्लाको गाउँ गाउँमा समेत डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त रहेको राजविराज नगरपालिका–३ कि अञ्जनी यादवको भनाइ रहेको छ।
डोम समुदायको जीविकाेपार्जन त्यही पैसाबाट चल्ने भएकाले पनि अहिले डालो, नाङ्लो र टालु टपरीलगायतका सामान बनाउन उनीहरु लागीपरेका छन्। रासस