एजेन्सी — फिलिपिन्समा ६.६ म्याग्निच्यूडको भुइँचालो गएको छ। दक्षिणी टापु मिन्डानाओको मध्यक्षेत्रमा मंगलबार बिहान उक्त भुइँचालो गएको हो।
अहिलेसम्म कम्तीमा सात जनाको ज्यान गएको बिबिसीले जनाएको छ। रोयटर्स समाचार एजेन्सीका अनुसार भग्नावशेषमुनि पुरिएका ७ वर्षे बालक र उनका ४४ वर्षे बाबुको उद्धार क्रममा मृत्यु भएको छ।
अधिकारीहरूले भुइँचालोमा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। भुइँचालोले धेरै घरहरूमा चिरा पर्नुका साथै खम्बाहरू ढलेर बिजुली आपूर्ति बन्द भएको छ। राष्ट्रपति रोड्रिगो डुटर्टेको गृहजिल्ला डाभो सहरमा पनि बिजुलीका तारहरू अस्तव्यस्त भएका छन्।
भुइँचालोको धक्कापछि स्थानीयहरू घरबाट निस्केर खुला सार्वजनिक स्थलहरूमा जम्मा भएका छन्। भौगोलिक रूपले अतिसक्रिय ’प्यासेफिक रिङ अफ फायर’ मा रहेको फिलिपिन्स भुइँचालो जोखिमयुक्त क्षेत्रमा पर्छ। पछिल्लो दुई सातामा यो दोस्रो कम्पन हो।
यसअघि अक्टोबर १६ मा ६.३ म्याग्निच्यूडको भुइँचालो जाँदा ७ जनाको ज्यान गएको थियो भने दुई सयभन्दा बढी घाइते भएका थिए।