जनकपुरधाम — केन्द्र र प्रदेश सरकार मिलेर जनकपुरबाट नेपला भ्रमण वर्ष २०२० को प्रचार सुरु गर्ने भएका छन्। साथै भ्रमण वर्ष प्रवर्दधन कार्यक्रम समेत राखिएको छ। कार्यक्रम दिउँसो १ देखि ४ बजेसम्म हुँनेछ।
पवित्र धार्मिक सांस्कृतिक स्थलबाट भ्रमण वर्षको प्रवर्द्धन कार्यक्रम थालनी गर्न लागिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए।
बुधबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भट्टराईले भने, यो कार्यक्रमको उद्देश्य भ्रमण वर्ष २०२० लाई जनकपुर र प्रदेश नम्बर २ मा प्रवर्द्धन गर्ने र देशभरका मानिसहरुलाई पनि सन्देश दिनु हो।’
जनकपुरधाम घुम्न आउने पर्यटकहरुको बसाई लम्ब्याउन वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। निर्माणधीन जनकपुर विमानस्थलको टर्मिनल भवनको काम २३ महिनामा पूरा भएर सञ्चालनमा ल्याउने समेत उनले बताए।
प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले प्रदेश २ मा भ्रमण वर्ष मनाउन संघीय सरकारले देखाएको तदारुकदा स्वागत योग्य भएको बताए। तर प्राविधिक तयारी गर्न नसक्नु कमजोरी भएको बताए। संघीय सरकारले मन्त्रालयका सचिवलाई स्थायी रुपमा बस्न नदिँदा पनि समस्या भएको मन्त्री रायले बताए।