ललितपुर– एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियेगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट ओखरपौवाका ज्ञानेन्द्र गजुरेल रहेका छन्।
उनी नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ। उनलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जनदीश्वरनरसिंह केसीले गत मंसिरमा आमन्त्रित सदस्यमा मनोनित गरेका थिए। त्यतिबेला केसीले गजुरेलसहित ८७ जनालाई आमन्त्रित सदस्यमा मनोनयन गरेका थिए।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राइका अनुसार गजुरेल नयाँ बसपार्कबाट कात्तिक ३ गते नै जबरजस्ती करणीको आरोपमा पक्राउ परेका हुन्। गजुरेलमाथि थप अनुसन्धान भइरहेको पनि राईले जानकारी दिए।
प्रहरीका अनुसार गजुरेलले लगनखेलस्थित साथीको कोठामा ती युवतीलाई लगेर जबरजस्ती करणी गरेको आरोप छ। बलात्कारबारे उजुरी परेपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।