काठमाडौं — दुई करोड रकमसहित पक्राउ परेका ६ जना भीआईपी जुवाडेलाई बिहीबार पुनः अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सबै निवेदन एक ठाउँमा राखेर पुनः उपस्थित गराउन आदेश दिएको हो।
क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्ट्रीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामालाई बुधबार थुनामै राख्न भनिएको छ।
आदेशमा भनिएको छ, ’‘ बन्दीप्रत्यक्षीकरणका निवेदनहरु साथै राखि एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरुसँग साथै राखि बन्दीहरुलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू।’
उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो। बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो। पक्राउ परेका २४ जनाविरुद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाउने प्रहरी तयारी छ।
बिहीबार अदालत खुलेपछि कानून बमोजिम पक्राउ परेकामाथि अनुसन्धान गर्न म्याद थप गरिने डीएसपी उमेश लम्सालले बताए।