सप्तरी _ प्रत्येक वर्ष चित्रगुप्त पूजाका अवसरमा बिक्री हुने कलम यस वर्ष रु एक लाख १ सय ५ मा बिक्री भएको छ।
चित्रगुप्त सेवा समिति राजविराजले चित्रगुप्त भगवानकाे पूजामा चढाउने गरेको कलम डाँक बढाबढका माध्यमबाट रु एक लाख १सय ५ मा बिक्री गरेको जनाएको छ।
राजविराजस्थित चित्रगुप्त मन्दिरमा आज आयोजित समारोहमा कलम किन्न तयार हुने राजविराज नगरपालिका–८ की रेखादेवी कर्णलाई उक्त कलम हस्तान्तरण गरियो। विगत ४० वर्षदेखि ‘कलम सकार’ गर्ने परम्परा रहिआएकामा यो वर्ष सबैभन्दा बढी रकममा कर्णले कलम सकार गरेको चित्रगुप्त सेवा समितिका अध्यक्ष सतिशकुमार दत्तले जानकारी दिए।
यम द्वितीयाको नामले प्रसिद्ध कात्तिक शुक्लपक्ष द्वितीया तिथि भाइटीकाका दिन हरेक वर्ष चित्रगुप्तको पूजा गरिन्छ। पाप र पुण्यको लेखाजोखा गर्ने चित्रगुप्त महाराजको प्रतिरूप मानेर कलम र मसीको पूजा गरिने यो दिनलाई व्यापारीले नयाँ वर्षको प्रारम्भ मान्छन्।
पौराणिक मान्यताअनुसार, सृष्टीकर्ता ब्रह्माले उत्पन्न गरेका चित्रगुप्त महाराजलाई पाप र पुण्यको लेखाजोखा गर्न यमराजको दरबारमा नियुक्त गरिएको कुरा पद्म पुराणमा उल्लेख छ। चित्रगुप्तको विवाह सूर्य पुत्री यमीसँग भएको थियो। यमराज र यमी सूर्यको जुम्ल्याहा सन्तान हुन्। पछि यमी यमुना बनेको र पृथ्वीमा गएको बताइन्छ।
यसैगरी उक्त कार्यक्रममा कक्षा ९ देखि १२ मा अध्ययनरत आठ जना र स्नातक तहमा अध्ययनरत चार जनालाई छात्रवृति वितरण गरिएको छ। यसै अवसरमा आज कायस्थ समुदायको १६ वर्षमुनिका बालबालिकाबीच हाजिरीजवाफ प्रतियोगिता भएको छ। रासस