काठमाडौं– प्रधानमन्त्री इमरान खानको राजीनामा माग्दै पाकिस्तानमा प्रदर्शन भएको छ। विपक्षी पार्टी एवम् पाकिस्तानको सबैभन्दा ठूलो धार्मिक समूह जमियत उलेमा–ए–इस्लाम (जेयूआई)ले प्रधानमन्त्री खानको राजीनामा र नयाँ चुनावको माग गर्दै प्रदर्शन सुरु गरेको हो।
जेयूआईको प्रदर्शनलाई विपक्षी पार्टीहरु पीपीपी र मुस्लिम लीग (नवाज)ले समेत समर्थन गरेका छन्। जेयूआईले राजनीतिक शाखा अन्सार उल इस्लामको स्वतन्त्रताको माग गर्दै देशव्यापी मार्च निकालेको छ। क्वेटा र कराँचीबाट सुरु भएको यो मार्च लाहोर हुँदै बिहीबार राजधानी इस्लामावाद पुग्दैछ।
सरकारले जेयूआईलाई स्वतन्त्रता मार्च ननिकाल्न अपिल गरेको थियो। तर, त्यसको असर देखिएन। जेयूआईले प्रधानमन्त्री इमरान खानले राजीनामा दिनुपर्ने, नयाँ शिराबाट दोस्रोपटक आम चुनाव गराउनु पर्ने, इस्लामिक कानुनलाई छेडछाड गर्न नपाइने, इस्लामिक संस्थाको सम्मान गर्नुपर्नेलगायतका मुख्य माग राखेको छ। यद्यपि प्रधानमन्त्री खानले राजीनामा नदिने बताएको बीबीसीले जनाएको छ।
मौलाना फजलुर्रहमान को हुन् ?
जमियतका नेता मौलाना फजलुर्रहमान हुन्। उनको आधार क्षेत्र बलुचिस्तान र खैबर पख्तुनख्वा हो। उनैको अगुवाइमा प्रधानमन्त्री खानविरुद्ध प्रदर्शन सुरु भएको हो। मौलाना फजलुर्रहमान पाकिस्तानको राजनीतिमा परिचित नाम हो। हरेक सरकारसँग उनी जोडिएका हुन्छन्। हरेक सरकारमा उनले कुनै मन्त्रालय वा कुनै समितिको अध्यक्ष पद पाउँथे। यसरी उनले हरेक सरकारसँग गठजोड बनाइराख्थे।
यद्यपि इमरान खानको पार्टी तहरीक–ए–इन्साफ र स्वयम् खानसँग उनको स्थान कहीँ रहेन । यहाँसम्मकी आम चुनावमा इमरान खानको पार्टीसँग बलुचिस्तान र खैबर पख्तुनख्वामा उनको पार्टी पराजित भए। फजलुर्रहमानले आफ्नै सिट पनि जोगाउन सकेनन्। इमरान खानले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने बेला उनले विपक्षी पार्टीले बहिस्कार गर्नुपर्ने बताए।
तर, विपक्षी पार्टीका नेताहरुले उनको कुरा सुनेनन् र शपथ ग्रहण समारोहमा सहभागी भए। यद्यपि अहिले फजलुर्रहमानले सरकारविरुद्ध थालेको आन्दोलनमा विपक्षी पार्टीहरुले साथ दिएका छन्।