काठमाडौं–२०७६ सालको असोज महिनासम्म नेपाली चलचित्रको व्यापारिक रिपोर्ट हेर्दा, विशेषगरि सिरिज र ब्रान्ड नै चलेको देखिन्छ। ‘जात्रै जात्रा’ कबड्डी कबड्डी कबड्डी र छ माया छपक्कै’को व्यापारले यही कुरा देखाएको छ। ६ महिनामा ३ वटा चलचित्र सुपरहिट हुँदा अबको ६ महिना नेपाली चलचित्रको व्यापार के होला भन्ने चिन्ता र चासोको विषय बनेको छ।
कात्तिकको दोश्रो सातामा चलचित्र ‘पोई पर्यो काले’ रिलिज भयो। यो चलचित्रको व्यापार सुखद छ, तर यसले लगानी उठाउन अझै केही हप्ता राम्रो कमाई गर्न पर्ने अनिवार्य छ।
नेपाली चलचित्रका निर्माता पौष र माघमा खासै चलचित्र रिलिज गर्न चाहँदैनन्। यसैले, यो बर्ष पनि पौष र माघ महिनामा चलचित्रको घोषणा खासै भएको छैन। किनकि यो महिनामा फिल्म कर्मीहरुले राम्रो सिजन ठान्दैनन्, मंसिरमा भने आधा दर्जन चलचित्र रिलिज हुँदैछन्।
यो बर्ष दिपेन्द्र के खनाल निर्दे्शित चलचित्र ‘आमा’ फागुणको ९ गते रिलिज हुँदैछ। यो चलचित्रको कथावस्तुले दर्शक तान्ने अपेक्षा गरिएको छ।
यस्तै, नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ पनि यो बर्षको अपेक्षित चलचित्र हो। यो चलचित्र फागुणको २३ गतेबाट रिलिज हुँदैछ। ‘म यस्तो गीत गाउँछु’को सिरिज भएकाले पनि दर्शकले यो चलचित्र प्रतिक्षा गरेका छन्। सुदर्शन थापाको निर्देशनलाई दर्शकले यसअघि पनि विश्वास गर्दै आएका छन्।
यही मितिमा रिलिज गर्ने तयारी गरिएको नायक विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ्ग’ पनि यो बर्षको प्रतिक्षित चलचित्र हो। यो चलचित्रलाई विशाल सापकाटाले निर्देशन गरेका हुन्।
अर्का चर्चित हाँस्य कलाकार शिवहरि पौडेल निर्दे्शित चलचित्र ‘लक्का जवान’लाई पनि यो बर्षको अर्को आशा गरिएको चलचित्रको रुपमा हेर्न सकिन्छ। हाँस्य कलाकारहरुको बाहुल्यता रहेको चलचित्रले दर्शकको चाप हलमा बढाउन सक्छ।
निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन मिति यही बर्षलाई तोकेका छन्। रिलिज दिन नै नतोकेपनि यो चलचित्र यदि यो बर्ष रिलिज भएको खण्डमा यसले पनि दर्शकलाई हलसम्म तान्न सक्छ भन्ने अनुमान गरिएको छ।
यही बर्ष नै रिलिज हुने भनिएका ‘प्रेमगीत ३, धुपौरे’ लगायतका चलचित्रले पनि दर्शक तान्ने अपेक्षा गरिएको छ। यी बाहेक अन्य थुप्रै चलचित्र यो बर्ष रिलिज हुँदैछन्। माथि उल्लेखित चलचित्रहरु स्टार कलाकार, ब्रान्ड ब्यानर र सिरिजमै केन्द्रित छन्। यी बाहेक अन्य चलचित्रले व्यापारिक रुपमा सफलताको झन्डा गाड्न सकेको खण्डमा चलचित्र क्षेत्रका लागि पक्कै पनि फाइदाजनक हुनेछ ।
आधा बर्ष सिरिज र ब्रान्डले धानेको चलचित्र क्षेत्रलाई अबको आधा बर्ष केले धान्ला त्यसको प्रतिक्षा गरौ।