एजेन्सी– कारबाओ कप फुटबलमा आर्सनल लिभरपुलसँग पराजित भएको छ। बुधबार राति भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा लिभरपुलले आर्सनललाई टाइब्रेकरमा ५–४ ले हराएको हो।
निर्धारित समयको खेलमा दुबै टोलीले ५–५ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो। छैटौं मिनेटमा स्कोर्डान मुस्ताफीको आत्मघाती गोलमा लिभरपुलले शुरुवाती अग्रता बनाएको थियो। तर लुकास टोरिराले १९ औं मिनेटमा बराबरी गोल गर्दै आर्सनललाई खेलमा फर्काए।
त्यस्तै पहिलो हाफको २६ औं र ३६ औं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ३–१ को स्थितिमा ल्याएका थिए। ४३ औं मिनेटमा लिभरपुलले पेनाल्टी पायो। जेम्स मिल्नर पेनाल्टीमा चुकेनन् र खेल ३–२ को अवस्थामा आइपुग्यो।
दोस्रो हाफको ५४ औं मिनेटमा एन्सले मेटल्यान्ड नाइल्सले गोल गर्दै पुन आर्सनलको अन्तरलाई बढाए। त्यसपछि लिभरपुलले ४ मिनेटको फरकमा २ गोल गर्दै खेलमा पुनरामगन गरेको थियो। एलेक्स अक्सलाडे चेम्बरलेनले ५८ औं र ओरिगीले ६२ औं मिनेटमा गोल गर्दैै अन्तर कम गरे।
त्यो अवस्थामा सम्म पनि आर्सनल नै अघिल्लो चरण जाने सम्भावना देखिएको थियो। तर ओरिगीले इन्जुरी समयमा गोल गर्दै खेललाई ५–५ को अवस्थामा पुर्याए र खेल पेनाल्टीमा गयो। आर्सनलका ड्यानी सेबालोस असफल भएसँगै लिभरपुलले अघिल्लो चरणको यात्रा तयार गरेको हो।