काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै होटेल व्यवसायीले छुट योजना सार्वजनिक गरेका छन्। होटल संघ नेपाल (हान)ले नेपाल आउने सबै विदेशी पर्यटकका लागि छुट दिने घोषणा गरेको हो।
हानका महासचिव साजन शाक्यले अब होटेलले २०२० भ्रमण बर्षभरआफ्नो रुमको मूल्यमा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने भएको जानकारी दिएका छन्। शाक्यले भने, ‘पाहुनालाई भ्रमण वर्षमा केही सहुलियत दिने सोचसहित छूटको घोषणा गरेका हौं।’
यसअघि भ्रमण वर्ष मूल आयोजक समिति बैठकले सबै सरोकारवाला निकायबाट भ्रमण वर्षलाई लक्षित गरी के गर्न सकिन्छ भनी विवरण माग गरिएको थियो। सोही आधारमा हानले छुट योजना सार्वजनिक गरेको हो।
हानका सदस्य होटेलमा मात्र छुट उपलब्ध हुनेछ। हानमा ठूलो लगानीका पर्यटकस्तरीयदेखि तारे होटेल सञ्चालकहरु आवद्ध रहेका छन्। हानको देशभर एक दर्जनभन्दा बढी क्षेत्रीय सञ्जाल फैलिसकेको छ।