बीबीसी — यस वर्ष नेपालमा धानको उत्पादन घट्ने प्रारम्भिक प्रक्षेपण कृषि विभागले गरेको छ। विगत केही वर्षदेखि धानको उत्पादन वृद्धि हुँदै गइरहेको भए पनि यसपालि विविध कारणले घट्ने देखिएको विज्ञहरूले बताएका छन्।
उनीहरूका अनुसार धान रोप्ने समयमा पर्याप्त वर्षा नहुनु, पछि मलको अभाव हुनु र केही स्थानमा रोपिएको धानमा बाला नलाग्नु जस्ता कारणले धानको उत्पादन घट्ने देखिएको हो।
प्राय: देखिइरहने यस्ता समस्याको समाधान गर्न नसकिए नेपाल धान उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य प्राप्त गर्न कठिन हुने उनीहरूको भनाइ छ। गत वर्ष नेपालमा हालसम्मकै सबैभन्दा धेरै अर्थात् ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो।
त्योभन्दा अघिल्लो वर्ष ५२ लाख मेट्रिक टन धान फलेको थियो। नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिक्षेत्रको योगदान करिब २७ प्रतिशत रहेको छ भने कृषिको कुल गार्हस्थ उत्पादनमा धानले झन्डै २५ प्रतिशत योगदान दिन्छ।
कति कम?
केही वर्षदेखि धान उत्पादन बढ्दै गएको भए पनि यस वर्ष त्यस्तो नहुने देखिएको कृषि विभागका वरिष्ठ कृषिअर्थविज्ञ महादेव पौडेलले बताए।
"हामीले देशभरिबाट विवरणहरू सङ्कलन गरिरहेका छौँ," उनले भने, "प्रारम्भिक अध्ययनले अघिल्ला वर्षहरूभन्दा केही कम धान उत्पादन हुने देखिएको छ।" गत वर्षको तुलनामा दुईदेखि पाँच प्रतिशत कम धान फल्न सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ।
पोहोर वर्षा राम्रो भएका कारण धान उत्पादनमा वृद्धि भएको थियो। तर यस वर्ष भने सबैतिर समान रूपमा वर्षा नभएकै कारण कम धान फलेको बताइएको छ। "यसपालि सबै स्थानमा समान वर्षा भएन। त्यसैले धेरै ठाउँमा धान रोप्नै ढिलो भयो," धानविद् भोलामान सिंह बस्नेत भन्छन्।
उनका अनुसार किसानले रोपाइँ गर्ने बेलामा र गरिसकेपछि पनि मल पाएनन्। साथै केही स्थानमा कीराले पनि धानबाली बिगारिदियो। विज्ञहरूका अनुसार केही ठाउँमा वर्णसङ्कर जातको धानको बीउमा बाला नलागेको पनि पाइएको छ।
"व्यापारीहरूले सही बीउ नदिएका हुनाले धान फल्न नसकेको र उत्पादन घट्ने देखिएको हो," बस्नेत भन्छन्। देशका विभिन्न स्थानमा लगाइएको गरिमा जातको धानको बीउ यस वर्ष नपोसाएको बताइएको छ।
आत्मनिर्भर हुन सकिएला?
सरकारले कृषिलाई आधुनिकीकरण गर्ने भन्दै विभिन्न कार्यक्रमहरू ल्याएको छ। तर त्यो नारामा मात्र सीमित भएको यस क्षेत्रका जानकारहरुले बताउने गरेका छन्।
यस वर्ष गरिएको प्रक्षेपणले अबको तीन वर्षजतिमा धान उत्पादनमा आत्मनिर्भर हुने सरकारी लक्ष्य प्रभावित हुने बस्नेत बताउँछन्। बस्नेत भन्छन्, "राम्रो सिँचाइबिना धान फल्दैन। समयमै मल पाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। तर यसका लागि पहल भएको देखिएको छैन।"
"यस्ता समस्याको दीर्घकालीन समाधान निकाल्न सकिएन भने धानमा आत्मनिर्भर हुने भनी तोकिएको समय भित्र यो लक्ष्य भेट्न कठिन देखिन्छ।" नेपाल धानमा आत्मनिर्भर हुन गत वर्ष फलेको भन्दा करिब १० लाख मेट्रिक टन बढी धान उत्पादन हुनुपर्ने सरकारी आँकडाले देखाउँछ।
कति चामल आयात?
परिवर्तित जीवनशैली र सहरीकरणका कारण नेपालमा चामलमा खाने चलन बढेको छ। त्यसैले गर्दा आयात पनि ह्वातै बढेको छ।चालु आर्थिक वर्षको पहिलो दुई महिनामा तीन अर्ब ८० करोड रुपैयाँ बराबरको चामल भारतबाट आयात भएको राष्ट्रब्याङ्कले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा उल्लेख छ।
त्यसैले अर्थतन्त्रको चुनौतीको रूपमा देखिएको व्यापार घाटालाई कम गर्न पनि धान उत्पादनमा वृद्धि गर्न प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक भएको जानकारहरू बताउँछन्।