डोल्पा – प्रदेश सरकारको अनुदानमा डोल्पामा चौरी पालन व्यवसाय फस्टाउँदै गएको छ।
स्थानीयको समूहगत सहभाागितासँगै यो व्यवसाय फस्टाएको हो। जगदुल्ला गाउँपालिका ४ को चौरीकोट र त्रिपूरा सुन्दरीको बंतडीमा सामुहिक चौरी पालनको नयाँ योजना सुरु गरिएको छ।
कर्णाली प्रदेश सरकार भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ५० लाख आर्थिक सहयोगमा जगदुल्लाको मौरे लेखमा कर्णाली प्रदेशकै उत्कृष्ट चौरी फर्म सञ्चालन गरिएको छ।करिब ४ हजार मिटरको उचाइमा रहेको मौरे लेखमा ‘भालु पाटन ब्याबसायिक चौरी पालन फर्म’ले स्थानीय सरकार र प्रदेश सरकारको सँयुक्त लगानीमा चौरी पालन गरेको चौरी पालन व्यवसायी समुहका अध्यक्ष सक्तप्रसाद रोकायाले जानकारी दिए।
५३ वटा चौरीगाईबाट पालन सुरु गरिएको र पहिलो वर्षमै दुधबाट उच्चस्तरीय छुर्पी उत्पादन गरेर बिक्रि सुरु गरेको अध्यक्ष रोकायाले बताए। उनले भने, ‘हामीले गाँउपालिकामै डेरी उद्योग पनि सञ्चालन गरेका छौ। जहाँबाट हरेक दिन ताजा दुध,घिउ,नौनी,छुर्पी र दही उत्पादन हुन्छ।
हिमालको नजिकै रहेको याक फर्ममा चौरी गाईहरू बाच्छा अनि भाले याकले फर्म भरिभराउ रहेको देखिन्छ। स्थानीय भक्त रोकाया भन्छन्, ‘कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र स्थानीय सरकारलाइ सम्मान गर्ने कुनै शब्द नै छैन हाम्रो जीवन स्तर सुधार बनायो चौरी पालन व्यवसायले।’