काठमाडौं– नायिका सुमी मोक्तानले केही चलचित्रमा अभिनय गरेकी छिन्। तर, उनको मुख्य भूमिका रहेको र उनले निकै नै आशा गरेको चलचित्र भने ‘सरौतो’ हो। जहाँ उनले सिंगो चलचित्र नै धानेकी छिन्। नेपाली चलचित्रमा नायिकालाई एक्सन भूमिकामा कमै मात्र उभ्याइन्छ। सुमी यस अर्थमा भाग्यमानी पनि हुन्।
हेर्दा बोल्ड स्वभावकी देखिने सुमीले चलचित्रमा पनि यस्तै खालको भूमिका निर्वाहा गरेकी छिन्। यो बदलाको कथामा बनेको चलचित्र हो। चलचित्रका लागि सुमीले निकै मेहनत गरेकी छिन्, उनले मार्सल आर्ट सिकेकी थिइन्। ‘२ बर्ष त मार्सल आर्ट नै सिकेकी छु। यसैले पनि आफूले गरेको मिहिनेतलाई ठूलो संख्यामा दर्शकले हेरुन् भन्ने लाग्छ।’
हरि हुमागाँइको निर्देशनमा बनेको चलचित्रको छायांकन पाटो मात्र उत्कृष्ट नभएको सुमी सुनाउँछिन्। उनी भन्छिन्‘हरि दाइको चलचित्र भएकाले यस्तो शंका लाग्नु स्वभाविक नै हो। तर, चलचित्रको कथावस्तु पनि शक्तिशाली छ।’
यो चलचित्र व्यापारिक रुपमा पनि सफल भएको खण्डमा सुमीको आगामी बाटो सुखद हुनेछ। किनकि चचचित्रको मुख्य भूमिकामा उनी भएको कारण उनी यसको आशामा पनि छिन्। तर त्यो हेर्न बाँकी नै छ।