एजेन्सी— ढाड दुख्ने समस्या मानिसको मेरुदण्डमा रहेका मांशपेसी, नसा, हाड अथवा अन्य संरचनामा अनुभव गरिने समस्या हो। यद्यपी, कतै कतै पित्तथैली तथा पेन्क्रियाजको दुखाइलाई पनि ढाड दुखेको भन्ने गरेको पाइन्छ।
आजभोलि धेरै मानिसहरु आफ्नो ढाड दुखेको गुनासो गर्छन। हुन पनि हाम्रो जीवनशैलीका कारण यो समस्या निकै बढेको छ। यस्तो किन भने हाम्रो जीवनशैली अहिले स्वस्थ छैन। धूमपान, मदिरा सेवन र ढाड दुख्ने समस्याबीच प्रत्यक्ष सम्बन्ध रहेकोे हुन्छ। ढाड दुख्ने समस्या छोटो तथा लामो दुबै समयावधिको हुन सक्छ। यो समस्या लगातार वा बेलाबेलामा दोहोरिने, एकै स्थानमा रहिरहने वा अन्य स्थानमा सर्दै जाने हुन सक्छ। यसको प्रकृति मन्द पीडा दिने, अत्यन्त पीडा दिने, घोचेको जस्तो झस्का महशुस हुने वा पोल्ने खालको हुन सक्छ।
कारणहरु:
ढल्कँदो उमेरमा शरीरभित्र हुने हर्मोनको परिवर्तन, पोषणमा कमी र शारीरिक गतिविधिले पनि ढाडको समस्या हुन्छ। यी कुराले हाडको क्याल्सियम र कडापना दिने पदार्थ गुम्न गई दुखाइ बढ्छ। त्यस्तै, रजस्वला बन्द भएपछि अधबैँसे महिलामा पनि ढाड दुख्ने समस्या देखिन्छ। कम्मरको हाडको पछाडिको भाग छुट्टिएको अवस्थामा पनि ढाडको दुखाइ हुन सक्छ। प्राय गरी खेलाडी, गह्रौँ भारी उठाउनेहरूमा यस्तो समस्या हुन सक्छ।
ट्युमर भएको अवस्थामा पनि कम्मरको दुखाइ हुन्छ। ट्युमर दुई किसिमका हुन्छन्। हानि गर्ने र नगर्ने। हानि गर्ने चाँडो बढ्छ र दुखाउँछ। यसबाट उत्पन्न हुने कम्मरको दुखाइ लगातार भइरहन्छ। कहिलेकाहीँ अगाडि निहुरिएको अवस्थामा एकापट्टि बढी निहुरिँदा अकस्मात झड्का प¥यो वा धेरै वजन उठायो भने डिस कुच्चिन गई उछिटिन्छ र दुख्छ। यसका साथै उचित व्यायाम नगर्नाले, घरको काम गर्दा, पेटको समस्या भएमा, धेरै लामो समयसम्म कुर्सीमा बस्दा, हड्डी र नशाको समस्या भएमा, सुत्दा नमिलेर वा सुतेर पढ्दा, मिर्गाैला सम्बन्धी समस्या भएमा, आदि धेरै समस्याले पनि ढाड दुख्ने गर्दछ।
जोगिने उपायहरु:
१. ढाड दुख्ने समस्या भए चिकित्सकलाई जाँच गराउनु पर्छ। एक्सरे, सिटी स्क्यान वा एमआरआई गरेर पनि ढाड दुख्नुको मुख्य कारण जस्तै मेरुदण्डको समस्या, मेरुदण्डको क्यान्सर, नसा च्यापिएको, लिगामेन्ट मांसपेशीको समस्या, डिस्कको समस्या, स्कोलियोसिस, कम्प्रेसन फ्याक्चर पत्ता लगाउन सकिन्छ,
२. दुखाइ सामान्य किसिमको छ भने सामान्य पेनकिलर सेवन गरेर तथा व्यायाम गरेर पनि तीन महिनामा निको पार्न सकिन्छ। तर दुखाइ गम्भीर भएमा यो समस्या लामो समय रहिरहन्छ। कुनै चोटपटकका समस्या भएमा घरमै आराम गरेर तथा वरफले सेकेर पनि दुखाइ कम गर्न सकिन्छ,
३. दुखाइ सहन सक्ने किसिमको छ भने फिजियोथेरापीद्वारा ढाड दुख्ने समस्या कम गर्न सकिन्छ,
४. ढाड दुख्दा पिसाब वा रगतको जाँच गरेर पनि अन्य कारण पत्ता लगाउन सकिन्छ,
५. नियमित व्यायाम गरेर, दुग्धजन्य पदार्थको सेवन गरेर, तीनदेखि छ महिना क्याल्सियमको सेवन गर्ने तथा गम्भीर किसिमको दुखाइलाई इन्जेक्सको प्रयोगद्वारा छ महिनामा पनि ठिक पार्न सकिन्छ।