एजेन्सी _ पाकिस्तानको रहिम यार खानमा रेलमा भएको आगलागीमा परि ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।
घाइते भएकाहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अरु बढ्न सक्ने आशङ्का पनि गरिएको छ।
रेलभित्र रहेको खाना पकाउने ग्यासको सिलिण्डर पड्किदा आगलागी भएको स्थानीय अधिकारीहरू बताउँछन्।
पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको यात्रुवाहक रेलको तीन वटा डिब्बामा आगलागी भएको हो। कतिपयको आगोले जलेर रेलभित्रै मृत्यु भएको छ भने कतिपयको जलिरहेको रेलबाट हाम फाल्दा ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घाइतेहरूलाई पर्याप्त उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको छ। साथै घटनाका बारेमा छानबिनको प्रक्रिया पनि सरकारी अधिकारीहरुले सुरु गरिसकेका छन्।
पाकिस्तानका रेल मन्त्री शेख रसिद मृतकका परिवारलाई राहतस्वरुप सरकारले १५ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएका छन्। त्यस्तै घाइतेलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने पनि उनले बताए।