राजविराज _ उपप्रधानमन्त्री एवम स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्घीय लोकतन्त्रको रक्षाका लागि समाबेशीको सिद्धान्तअनुसार पिछडिएका समुदायलाई प्रतिनिधित्व गराउन सरकार अघि बढिरहेको बताएका छन्।
प्रेस नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजना गरेको शुभकामना आदानप्रदान एवम पत्रकार भेटघाट कार्यक्रममा उहाँले जनतालाई सङ्घीयता महसुस गराउन केही कुरा बाँकी रहेकाले संविधान संशोधन गरेर भए पनि ती कुरा पुरा गर्ने प्रक्रियामा सरकार लागि परिरहेको बताए।
समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले सङ्घीय लोकतन्त्रको रक्षाका लागि जनताका आकांक्षाअनुरुप सरकार पनि अघि बढेको प्रष्ट पारे।
लामो सङ्घर्षपछि प्राप्त भएको सङ्घीयतालाई जोगाउनुपर्ने भन्दै उनले सङ्घीयतासहित मधेश बिद्रोहबाट प्राप्त उपलब्धि समाप्त गर्ने चलखेल भइरहेको बताए। सङ्घीय लोकतन्त्र समाप्त पार्न विभिन्न शक्ति षड्यन्त्रमा लागेको भन्दै उनले विगतदेखि सङ्कलन गर्दै आएको कर उठाउँदा र कतै दुर्घटना हुँदासमेत सङ्घीयतालाई दोष लगाउने गरेको बताए।
नेपालकै इतिहासमा सबैभन्दा महत्वपूर्ण परिवर्तन सङ्घीय लोकतन्त्र रहे पनि जनतामाथि शासन गर्ने सोच राखेका शक्तिलाई परिवर्तन पचाउन मुस्किल भइरहेको उनको भनाइ थियो। संविधानमा भएको त्रृटि संशोधन गर्ने सहमतिमा आफू सरकारमा सहभागी भएको उपप्रधानमन्त्री यादवले बताए।
उपप्रधानमन्त्री यादवले प्रदेश २ को राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिरहामा क्यान्सर अस्पताल, वीरगञ्जमा विशिष्ट सुविधासहितको अस्पताल र जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकसित गर्ने सरकारी योजना रहेको जानकारी दिए। रासस