काठमाडौं– नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्का पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग टी–१० मा अनुबन्धित भएका थिए। त्यस्तै लेग स्पिनर सन्दीप लामिछानेले पनि दाेस्राे पटक उक्त लिग खेल्ने पक्का भएको थियो।
बिहिबार एसीसीले इमर्जिङ्ग टिम्स एसिया कप खेल्ने समय र टिमको जानकारी सार्वजनिक गरेको छ। नोभेम्बर १५ देखि २४ सम्म युएईमा टी–१० लिग हुनेछ र इमर्जिङ्ग कप पनि त्यही समयमा परेको हुँदा पारस र सन्दीपले इमर्जिङ्ग टिम्स एसिया कप खेल्ने अनिश्चित भएकाे छ।
अब पारस र सन्दीपले इमर्जिङ्ग टिम्स एसिया कप खेल्लान् वा टी–१० लिग यो भने प्रतिक्षाको विषय बनेको छ। इमर्जिङ्ग कपमा २३ वर्षमुनिका खेलाडीहरू समावेश गर्नुपर्ने र ४ जनामात्र सिनियर खेलाडीहरू राख्न पाउने भएकाले पनि उनीहरूले इमर्जिङ्ग कप नखेल्ने सम्भावना प्रवल छ। टी–१० लिगका लागि पारस टिम आबु धाबी र सन्दीप कर्नाटका टस्कर्ससँग अनुबन्धित भएका थिए।
त्यसअघि नेपालले एमसीसीसंग ३ वटा खेल खेल्दैछ। एमसीसीसंग एकदिवसीय खेल्न घोषणा गरिएको टिमले इमर्जिङ्ग टिम्स एसिया कप खेल्नेछ या अर्को टिम छनौट हुनेछ त्यो भने निश्चित भइसकेको छैन।