काठमाडौं– चर्चित बलिउड अभिनेत्री तथा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी पत्नी अनुष्का शर्माले पूर्व भारतीय क्रिकेटर फारुख इन्जिनियरको एक भनाई प्रति कडा आपत्ति जनाउँदै स्टाटस् लेखेकी छिन्।
फारुखले वर्ल्ड कप २०१९ को क्रममा क्रिकेट टिमका चयनकर्ताहरुलाई अनुष्काले प्रभावमा पारेकाे आराेप लगाएका थिए। अनुष्काले ट्विटर र इन्स्टाग्राममा एक पोस्ट शेयर गरेकी छन् जसमा उनले यो विवादित विषयमा कडा प्रतिक्रिया जनाएकी छन् ।
के लेखेकी छन् अनुष्काले ?
‘मनगढन्ते र फेक न्युजका सवालमा मेरो सधैँ यहि सुझाव छ कि हामी चुप बसौँ र आलोचकलाई बोल्न दिऔँ। यही विचारसँग विश्वास राखेर मैले आफ्नो करियरको ११ वर्ष पुरा गरेकी छु। मैले सधैँ आफ्नो आत्मसम्मान र सत्यलाई बलियो रुपमा उभ्याएकी छु।
तर एक भनाई छ कि पटक–पटक एक झुटलाई दोहोर्याइयो भने सत्य लाग्न सक्छ। मसँग पनि यस्तै भयो। म चुपचाप सहेर बस्ने भएकै कारण मेरा विरुद्धका अफवाहहरु मानिसहरुलाई सत्य लागिरहेको छ। तर आज यसको अन्त्य हुनेछ। म त्यसबेला पनि चुप रहेकी थिएँ जब मलाई भनियो मेरो कारणले विराट कोहलीको प्रदर्शन खराब भयो।
म त्यो वाहियात आरोपबारे पनि चुप बसे जब भनियो कि म भारतीय क्रिकेटसँग जोडिएको विषयमा सहभागी छु। मेरो नाम त्यो मनगढन्ते कुरामा पनि जोडियो जहाँ भनिएको छ कि म बन्द कोठामा हुने क्रिकेट टीमको बैठकमा सहभागी हुन्छु र टीमको छनौट प्रक्रियालाई प्रभावित गर्छु। म त्यहाँ पनि चुप रहेँ।
मेरो नाम गलत ढंगले त्यो दाबीमा पनि प्रयोग गरिएको जसका अनुसार इण्डियन टीमको विदेश यात्रामा मैले आफ्ना श्रीमानलाई आवश्यकता भन्दा धेरै समय रोकेँ। मानिसहरु भनिरहे म चुपचाप बसिरहेँ।
जब मलाई एक हाई कमिश्नरकी पत्नीले ग्रुप तस्बिरमा सहभागी हुन आग्रह गरिन् मैले बडो संकोचका साथ उक्त आग्रह स्वीकार गरे। मानिसहरुले यसमा पनि बबाल मच्याए। मलाई जबरजस्ती उक्त इभेन्टमा सहभागी भएको आरोप लगाइयो जबकि मलाई त्यहाँ आमन्त्रित गरिएको थियो। तर पनि मैले क्रिकेट बोर्डलाई यसबारे स्पष्टीकरण दिनु पर्यो म चुप बसेँ।
यी तमाम घटनाहरुसँगै एक नयाँ झुट फैलाउन थालिएको छ कि वर्ल्ड कप यात्रामा क्रममा क्रिकेट टीमका चयनकर्ताले मसँग छलफल गरेका थिए। यदि तपाईलाई चयनकर्ता र उनको योग्यता माथि कुनै टिप्पणी गर्नु छ भने मेरो भन्नु केही छैन तर आफ्नो झुटो दाबीमा बल पैदा गर्न र सनसनी पैदा गर्न मेरो नामको प्रयोग नगर्नुहोस्।
म यो हुन दिने छैन कि यस्तो तल्लो स्तरको कहानीमा मेरो नाम जोडियोस्। मैले आज बोल्ने फैसला गरे किनभने मलाई लाग्यो कि चुप रहनुलाई कसैले उसको कमजोरी नठानोस्। भलै तपाईँहरु मेरो श्रीमानको आलोचना गर्नुहोस् तर त्यो आलोचना तथ्यमा आधारित होस् तर मेरो नाम नजोडियोस्। मैले कडा मेहनतका साथ आफ्नो करियर बनाएकी छु। म यसबारे कसैसँग सम्झौता गर्न सक्दिन।
केही व्यक्तिलाई शायद यो कुरा नपच्न सकेको हुनुपर्छ कि म आफ्नो मेहनतका आधारमा सफल भएकी एक स्वतन्त्र महिला हुँ जो एक क्रिकेटरकी पत्नी पनि हो। मेरो सफलताको पछाडि कति मेहनत र सङ्घर्ष छ, त्यो राम्ररी बुझोस्।’