बाँके– तरुण दलका नेपालगञ्ज नगर सभापतिलगायत ६ जनालाई प्रहरीले अत्याधुनिक पेस्तोलसहित पक्राउ गरेको छ।
जिल्लाको जानकी गाउँपालिकाबाट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६, गनापुरस्थित नमस्ते रिसोर्टबाट गएराति करिब ९ बजे उनीहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
पक्राउ पर्नेमा शाहसहित दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगर रहेका छन्। रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा१८च ४२११ नंको मारुती सुजुकी कारको बायाँतर्फको सिटमा फल्ट बटम बनाई लुकाइछिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी तरुण दल नगर सभापति शाह निर्माण व्यवसायीसमेत हुन्।उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए।