काठमाडौं– देव भुषालको निर्देशन तथा प्रेमराज दाहालको निर्माणमा रहेकाे चलचित्र ‘मिस्टर नेपाली’ कात्तिकको २९ गतेबाट नेपालमा रिलिज हुने तयारीमा छ। यो चलचित्रले विदेशमा रहेपनि मन त नेपाली नै हुन्छ भन्ने भावलाई प्रस्तुत गरेको छ। चलचित्रको ट्रेलर र गीत केही समय अगाडि सार्वजनिक भईसकेको छ।
यो चलचित्रको नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर शो गर्ने तयारी गरिएको छ। निर्माणपक्षले दिएको जानकारी अनुसार नोभेम्बर १० र १२ मा चलचित्रको प्रिमियर अमेरिकामा हुन लागेको हो। हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा अमेरिकी समय अनुसार बिहान ११ बजे चलचित्रको प्रिमियर हुन लागेको हो। यस्तै, यही मितिमा अमेरिकी समय अनुसार दिउँसो ३ बजे ८५०५ वाल्टर्न बीएलभीडीमा यो चलचित्रको प्रिमियर हुनेछ।
यस्तै, अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा चलचित्रको प्रिमियर हुन लागेको हो। १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा यो चलचित्रको प्रिमियर हुनेछ। अमेरिकी समय अनुसार बेलुकी साढे ६ बजे चलचित्रको प्रिमियर हुन लागेको हो।
चलचित्रमा नायक भूवन केसी, नायिका रीमा विश्वकर्माको साथमा नव कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ। यसरी नेपालमा रिलिज हुनु पूर्व विदेशमा प्रिमियर शो गरिएको यो चलचित्रले दर्शकको मन जित्न सक्ने नसक्ने धेरैलाई खुल्दुली छ।