जनकपुरधाम — प्रदेश २ को राजधानी जनकपुरधाम ‘नेपाल साहित्यिक महोत्सव’ हुने भएको छ।
कात्तिक २२, २३ र २४ गते हुने महोत्सवमा साहित्यसँगै राजनीति र विकासका एजेण्डाका विषयमा चर्चा परिचर्चा हुनेछ।
आयोजककाअनुसार महोत्सवमा ११ वटा सत्र राखिनेछ, जसमा मधेशमा विभिन्न कालखण्डमा भएको राजनीतिबारे पत्रकार, राजनीतिज्ञ र कानुन व्यवसायीबीच संवाद गरिने भएको छ।
प्रदेशका मुख्य शहरहरु जनकपुरधामसहित राजविराज र वीरगञ्जका मेयरबीच छलफल हुनेछ। स्थानीय तहको विकासमा छलफल गराउन भारतमा राष्ट्रपति पुरस्कार पाएका गाउँपञ्चायत प्रमुखलाई पनि बोलाइएको छ।
यस्तै ‘स्वाभिमान, सम्मान र अभिमान’ नाम दिएको सत्रमा प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, पत्रकार किरण नेपाल, प्रदेश सांसद रानी शर्माको सहभागिता रहनेछ भने सत्रको मोडरेटर नेपाली कांग्रेस नेता गगन थापा रहनेछन्।
महोत्सव आयोजक बुकवर्म फाउण्डेशनका निर्देशक अजित बरालले सीमासम्बन्धी सम्वाद पनि हुने बताए। मैथिली साहित्यमा उच्च योगदान दिने व्यक्तिहरुको श्रद्वाञ्जली र सम्मान विषयमा पनि चर्चा गरिने उनको भनाइ छ।
गंगासागर पोखरीमै स्टेज
साहित्यिक महोत्सवका कार्यक्रमहरु जनकपुरधामको विभिन्न ठाउँमा आयोजना गर्ने तयारी छ। गंगासागर पोखरी, रेल्वे स्टेशन, गोपाल धर्मशाला, जानकी मन्दिर, विवाह मण्डपमा महोत्सवका स्टेज संचालन गरिने भएको छ।
गंगासागर पोखरीमा कविता वाचन राखिनेछ। गंगासागर पोखरीको पानीमै बनाइएको स्टेजमा कविहरुले कविता वाचन गर्ने नेपाल भ्रमण बर्ष २०२० प्रदेश २ का पर्यटन प्रवर्द्धन समिति संयोजक मनिष झाले जानकारी दिए।
यसअघि कात्तिक १७ र १८ गते निर्धारण गरिएको महोत्सव चाडपर्वलाई मध्यनजर गरेर एक सातापछि सारिएको आयोजकले जनाएको छ।