काठमाडौं– काँग्रेस पार्टी कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। सभापति देवाउले नेविसंघको नयाँ नेतृत्वका लागि ५० वर्ष आसपासका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि त्यसको विरुद्धमा नेविसंघको एक समूहले प्रदर्शन गरेको हो।
शुक्रबार अपरान्ह केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुग्दा उनीहरुले देउवाविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए। उनीहरुले ३२ वर्ष मूनीको नेतृत्व नेविसंघमा ल्याउनुपर्ने माग गरेका थिए। प्रदर्शनको नेतृत्व नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले गरेका थिए।
विद्यार्थीहरुले आफुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि देउवा आक्रोशित हुँदै औंलो ठड्याएर अपशब्द समेत प्रयोग गरेका थिए। नेविसंघको विधानमा नेतृत्वका लागि ३२ वर्षीय उमेर हद व्यवस्था गरिएको छ।