काठमाडौं– नेपाल तरुण दलले नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजङ्ग शाहलगायत अन्य स्थानीय नेताकार्यकर्तालाई शान्तिपूर्णरूपमा घरायसी छलफलमा रहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
लोकतन्त्रवादी तरुणहरुलाई विभिन्न झुटा बहानामा पक्राउ गरी फसाउने र दुःख दिने नियतले बिहीबार राति पक्राउ गरिएको भन्दै तरुण दलले सो घटनाको निन्दा गरेको छ।
तरुण दलले प्रहरीद्वारा आफैँले लगेको हतियार तरुण नेता सन्दीपजङ्ग शाहको गाडीबाट बरामद भएको भनी झुटो बहाना बनाई फसाउने र सामाजिक आतङ्क सिर्जना गर्ने नियतले पक्राउ गरिएको आरोप लगाएको छ।
अध्यक्ष जीतजङ्ग बस्नेतले आज एक विज्ञप्तिमार्फत पक्राउ गरिएका सबै नेताकार्यकर्तालाई रिहाइ गर्न, निर्दोषलाई पक्राउ गरी फसाउन झुटा प्रपञ्च रच्ने प्रहरीहरुलाई कारवाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिङ्गरप्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ। (रासस)