एजेन्सी— बेलायती एक कम्पनीले थोरै समयमै सजिलैसँग फोल्ड गर्न सकिने साईकल बजारमा ल्याएको छ।
कम्पनीका अनुसार यो साईकललाई करीब २० माईलप्रतिघन्टा (एमपीएच) को अधिकतम बेगमा गुडाउन सकिन्छ। एक पटक चार्ज गरेपछि ४० माईल्स (६५ किलोमिटर) को यात्रा सजिलै गर्न सकिनेछ।
यसअघि बजारमा रहेको ‘ब्रम्प्सन बाइसाइकल’ लाई थप मोडिफाइ गर्दै ‘गोसाईकल’ ले नयाँ साइकल उत्पादन गरेको हो। विद्युतबाट चल्ने यो साईकललाई ‘गोसाईकल जिएक्स’ नाम दिइएको छ। यसमा लिथियम ब्याट्रीका प्रयोग गरिएको छ र मात्र ७ घन्टामा यो पूर्ण चार्ज हुन्छ। चार्ज सकिएको अवस्थामा पेडलको प्रयोग पनि गर्न सकिन्छ।

थोरै स्थानमा घर, कार्यालय तथा कुनै पनि ठाउँमा यसलाई पार्किङ गर्न सकिने गरि डिजाइन गरिएको हुनाले ठाउँको बचत तथा व्यवस्थित पनि देखिन्छ। अप्ठेरो बाटाहरुमा यसलाई फोल्ड गरेर ट्राभल सुटकेस झै सजिलै गुडाएर या बोकेर पनि लान मिल्छ।
साईकलको पार्टहरु हलुका धातुहरुबाट बनाइएका हुनाले यो साईकलको तौल करीब १७ दशमलव ८ किलोग्राम मात्रै छ। निर्माण कम्पनिका अनुसार यो साइकलले सय किलोग्रामसम्मको तौललाई सजिलै धान्न सक्छ। यसको पाङग्रा म्याग्नेसियम मिश्रित धातुबाट निर्माण गरिएको छ। यसको मूल्य २ हजार ८ सय ९९ पाउण्ड निर्धारण गरिएको छ।
यसमा एक एपको जडान गरिएको छ र उक्त एपबाट आफूले पार गरेको दूरी र उक्त दूरी पार गर्न कति क्यालोरी खपत भयो भन्ने जानकारी पनि लिन सकिन्छ। गोसाइकका संस्थापक रिचार्ड थर्पेका अनुसार हाम्रो स्वास्थ्यका लागि पनि उपयोगी र सहरी जीवनशैलीलाई थप सुगमताका साथ दिगो बनाउने उद्देश्यले उक्त साइकल निर्माण गरिएको हो। पैसा र समय दुवैको बचत गर्न यो गोसाइकल जिएक्सले उपभोक्तालाई सहयोग गर्ने दाबी पनि गरिएको छ।