काठमाडौँ— नेपालमा फोजी सेवा सुरु भएको करिब २ वर्षमा नै प्रयोगकर्ताका सङ्ख्या २० लाख नाघेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार दूरसञ्चार सेवा प्रदायकको फोजी प्रयोगकर्ताको संख्या २० लाख ६० हजार नाघेका छन्।
जसमा एनसेलका फोजी प्रयोगकर्ता १३ लाख ५८ हजार भन्दा बढी रहेको र नेपाल टेलिकमका प्रयोगकर्ता ६ लाख ५२ हजार नाघेको प्राधिकरणले जनाएको छ। अर्को सेवा प्रदायक स्मार्ट टेलिकम प्रालिका फोजी प्रयोगकर्ता करिब ५० हजार रहेको प्राधिकरणले जनाएको छ।
एनसेलले नेपाल टेलिकमले भन्दा ५ महिना पछि, २०७४ जेठबाट फोजी सेवा सुरु गरेको हो र सबैभन्दा धेरै फोजी प्रयोगकर्ता पनि एनसेलका नै छन्।
थ्रीजी प्रयोगकर्ताको संख्या भने १ करोड नाघेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सार्वजनिक गरेकोे तथ्यांकअनुसार नेपालमा थ्रीजी प्रयोगकर्ताको संख्या १ करोड १ लाख ३२ हजारभन्दा बढी छ। थ्रीजी सेवा दिइरहेका दुई सेवा प्रदायकमध्ये सबैभन्दा बढी प्रयोगकर्ता नेपाल टेलिकमका छन्। टेलिकमका थ्रीजी प्रयोगकर्ता ५३ लाख ४४ हजार बढी रहेको र एनसेलका थ्रीजी प्रयोगकर्ता करिब ४८ लाख छन्।
नेपालमा ब्रोडब्यान्ड (द्रुत गतिको इन्टरनेट) प्रयोग गर्नेको संख्या कुल जनसंख्याको ५४ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ। जसमध्ये अधिकांशले मोबाइलबाट इन्टरनेट प्रयोग गर्छन्। मोबाइल इन्टरनेट जहाँ पनि प्रयोग गर्न सकिने भएकाले प्रयोगकर्तालाई सहज हुने भएकाले कुल जनसंख्याको ४२ प्रतिशतले मोबाइलबाट इन्टरनेट प्रयोग गर्ने प्राधिकरणको तथ्यांक छ। प्राधिकरणले सहरी क्षेत्रमा १० एमबीपीएस र ग्रामीण क्षेत्रमा ५१२ केबीपीएस गतिको इन्टरनेटलाई ब्रोडब्यान्ड भनी परिभाषित गरेको छ।
तथ्यांकअनुसार नेपालमा स्मार्टफोन प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । एनसेलले सार्वजनिक गरेको तथ्यांकअनुसार उसका कुल प्रयोगकर्तामध्ये ५२ प्रतिशतले स्मार्टफोन बोक्छन्। एनसेलका कुल प्रयोगकर्ताको संख्या १ करोड ६४ लाख छ। एनसेलको यो तथ्यांकबाट नेपाली उपभोक्ताले डाटा खपत बढाएको देखिन्छ।
प्रति प्रयोगकर्ताले एक महिनामा ८ सय एमबीभन्दा बढी डाटा खपत गर्ने गरेका छन्। जुन गत वर्ष सोहि अवधिमा महिनामा साढे तीन सय एमबी मात्र डाटा खपत गर्ने गरेका थियो।