काठमाडाैं — विशेषगरी नेपालको दक्षिणी र भारतको उत्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण पर्व हो, छठ। दशै तिहार सकिएसँगै तराईका जिल्लाहरुमा छठको चहलपहल हुन्छ।
तराईमात्र नभएर काठमाडौंलगाएतका विभिन्न ठाउहरुमा छठको रौनकता बढ्न थालेको छ। समृद्घिको पर्व मानिने तराईबासीको महान चाडपर्व छठ सुरु भएसँगै घर, पसल र बजारमा छठको ब्यापक चहल पहल सुरु भएको देखीन्छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर सप्तमी तिथिको विहानसम्म गरी ४ दिनसम्म मनाईने छठपर्व विहिबारदेखि विधिवत रुपमा सुरु भयो। छठ पर्व तराईमा विशेष महत्वका साथ मनाउने गरेता पनि पछिल्ला केही वर्षदेखि काडमाडौँ उपत्यका र पहाडी क्षेत्रमा समेत भव्यताका साथ मनाउन थालिएको छ।
यो पर्वमा मुस्लिम, बौद्ध र ब्राह्मण, नेवारलगायत समुदायीहरुको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आएका राजेन्द्र सिंहले बताए। उनको नेतृत्व रहेको कमलपोखरीमा करीब १५ दिन अघिदेखी घाट सजावटको तयारी शुरु भइसकेको थियो। करिब ७ लाखको बजेटमा घाटको निर्माण कार्य भइरहेको सिँह बताउँछन्।
पहिलेको समयमा तराईमा मात्रै मनाइने यो पर्व अहिले काठमाडौंलगायतका ठाउँहरुमा पनि भब्य रुपमा मनाउन थालिएको छ जसका कारण मानिस बिच एक आपसमा सामाजिक साँस्कृतिक सद्भावको भावना र धर्मसँस्कारको आदानप्रदानको काम भइरहेको हुँदा सबै समान हुन् भन्ने मान्यता बढ्दै गएको छ।
सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुशी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ। खास हिन्दु समुदायले मान्ने यो पर्वको लागि काठमाडौंको राजधानीमा कमलपोखरी र गुह्येश्वरीबाट गौरीघाटको वाग्मती किनारमा छठघाट निर्माण भइरहेको छ।
दुवै स्थानमा कात्तिक १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष पूजा एवं छठ पर्व अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ। छठलाई लक्षित गरी ब्रतालुहरुलाई पुजा आरधनाको लागि केही पनि समस्या नहोस् भनेर बिभिन्न घाटहरुमा ब्यवस्थित तरीकाले टेन्टहरु लगाउने काम धमाधम भईरहेको हो।
२०६२ सालमा गुहेश्वरी गौरीघाटमा २० देखी २५ जनाको मात्र सहभागिता रहन्थ्यो भने अहिले ५ सय ५० को हारहारिमा ब्रतालुहरुको भिड हुने गरेको गुहेश्वरी गौरीघाट छठ पुजा व्यवस्थापन समितीका संयोजक रामबाबु महासेठ बताउछन्।
एकजना भक्तबाट रु १ हजार शूल्क उठाए पनि त्यहीबाट बाँकी रहेको र केही सहयोगका रकमहरुबाट छठको तयारी गर्ने गरेको उनले जानकारी दिए। मनोकाँक्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन्।
विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो। विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरी र कमलपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालीएको हो।
छठको इतिहास
सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ। अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ। चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ। त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ। कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ। चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ।
यसरी मनाइन्छ छठ
सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ। व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ। षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्। व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन्।
तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुने गरेको बताउँछन्। शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ। त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छ।
नहान खान (नहाए खाए) : छठको पहिलो दिन अर्थात(कार्तिक शुक्ल चतुदर्शीका दिनदेखी छठ आरम्भ हुन्छ। छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन्। बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई(धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन्।
खर्ना : छठको दोस्रो दिन(कार्तिक शुक्ल पञ्चमी) विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ। यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन्।
छठ : छठको तेस्रो दिन अर्थात छठ पर्व। यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन्। साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन्।
पारण : छठको चौथो दिन(कार्तिक शुक्ल सप्तमीका दिन रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन्। विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन्। त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन्।
यस वर्षमा भने कात्तिक १६ गते बेलुकी अस्ताउँदो र कात्तिक १७ गते बिहान उदाउँदो सूर्यलाई अर्घ दिइ समाप्त गरिने भएको छ। कात्तिकको शुक्लपक्ष अर्थात् शनिबार आउन लागेको छठ पर्वका लागि स्थानीय पोखरी,नदी तथा विभिन्न जलाशय सझाउने काम भने धमाधम नै भईरहेको छ। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। कात्तिक शुक्लपक्षमा सूर्यको पूजा गर्नाले मनोकाक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने बिस्वासका साथ यो पर्व मनाउने गरेको कमलपोखरीका छठ समितीका अध्यक्ष राजेन्द्र सिंहले बताए।
सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ। सूर्यपूजा र दर्शन गरी विवाहित महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटा केटीले सुयोग्य बर बधु प्राप्तिको कामना गर्छन्। सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सख्या पनि धेरै छ। नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ।