एजेन्सी– लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले तेस्रो हार बेहोरेको छ। शुक्रबार राति भएको खेलमा नेयमारविनाको पीएसजी घरेलु टोली डिजनसँग २–१ गोलले स्तब्ध भएको हो।
खेलको १९ औं मिनेटमा केलियन एमबाप्पेको गोलमा पीएसजीले शुरुवाती अग्रता बनाएको थियो। डि मारियाको पासमा एमबाप्पेले उक्त गोल गरेका थिए। तर मौनिर चोएयरले पहिलो हाफको थप गरिएको समयमा गोल गर्दै घरेलु टोली डिजनलाई खेलमा फर्काएका थिए।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा डिजोनले थप एक गोल गरेको हो। दोस्रो हाफको ४७ औं मिनेटमा जोन्डर काडिजले गोल गर्दै डिजनलाई २–१ को अग्रता दिलाए। त्यसपछि पीएसजीले खेलमा फर्कने लगातार प्रयास गरेपनि सफल भएन र पराजित भयाे।
पराजित भएपनि पीएसजी १२ खेलबाट २७ अंक जोडेर शीर्षस्थानमै छ। पीएसजीलाई हराएको डिजन १२ अंकको साथ १८ औं स्थानमा उक्लिएको छ।