एजेन्सी– युएईमा जारी आइसीसी टी–२० विश्वकप छनोटको फाईनलमा नेदरल्याण्डस् र पपुवान्युगिनी प्रतिस्पर्धा गर्दैछन्।सेमिफाइनलमा आफ्ना प्रतिद्वन्दीलाई पछि पार्दै दुबै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन्।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा नेदरल्याण्डसले आयरल्याण्डलाई २१ रनले हराएको थियो। त्यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा पपुवान्युगिनीले नामिबियालाई १८ रनले पराजित गरेको थियो।
टी–२० खेलमा नेदरल्याण्डस् र पपुवान्युगिनीको यो दोस्रो भिडन्त हो। यसअघि विश्वकप छनोटको समुह चरणको खेलमा दुइ टाेलीले एकअर्काविरुद्ध खेलेका थिए। जसमा पपुवान्युगिनीले नेदरल्याण्डस्लाई ५ विकेटले पराजित गरेको थियो। सन् २०१८ को आइसीसी एकदिवसीय विश्वकप छनोटमा भने नेदरल्याण्डसले पपुवान्युगिनीलाई ५७ रनले स्तब्ध पारेको थियो।
पपुवान्युगिनी नेदरल्याण्डसविरूद्ध उच्च मनोबलका साथ मैदान उत्रँदै उपाधि हात पार्ने दाउमा छ भने नेदरल्याण्डस् समुह चरणमा बेहोरेको हारको बदला लिँदै उपाधि आफ्नो पोल्टामा पार्ने सोचमा छ। खेल नेपाली समयअनुसार ९ः१५ मा शुरु हुनेछ।