काठमान्डौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएको छ। धुम्बाराहीमा धन्वन्तरी पार्कको आज उद्घाटन गर्दै उहाँले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने बताए।
उनले सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता जुट्नुपर्नेसमेत बताए। “स्थानीय तह र जनता मिलेर अतिक्रमण गरिएका जग्गा खोज्नुपर्दछ”,उनले भने “जनता सक्रिय भएमात्र सम्पत्तिको संरक्षण हुन्छ ।” यसैगरी प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले सार्वजनिक जग्गामा पार्क निर्माण गरेर संरक्षण गर्ने भन्दै धन्वन्तरी पार्क यसैको शुरुआत भएको बताए।
उनले प्रदेश सरकारले पार्कको स्तरोन्नतिमा सहयोग गर्ने उल्लेख गरे। सङ्घीय संरचनामा जाँदा विकासका काममा केही ढिलाइ भएको भन्दै उनले अहिले विकासका कामले गति लिएको बताए।
उक्त पार्क प्रदेश सरकारको बजेट र धुम्बाराही धन्वन्तरी क्लबको करीब रु १२ लाख ५० हजारमा निर्माण गरिएको वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिए। रासस