काठमाडौं– नेपालविरुद्ध क्रिकेट सिरिज खेल्नको लागि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)को टोली नेपाल आइपुगेको छ। १३ खेलाडी सहितको टोली शनिबार काठमाडौंमा आइपुगेको हो।
एमसीसीको टोलीमा टेष्ट अनुभवीसँगै इंग्ल्यान्डबाट यु–१९ र प्रथम श्रेणीको खेलको अनुभव बोकेका खेलाडीहरु रहेका छन्।। आइतबादेखि काठमाडौं र पोखरामा चल्ने भ्रमण सिरिजमा एमसीसीले नेपालको यु–१९, सिनियर टोली, चिफ मिनिस्टर ११ र कास्की ११ गरेर टि ट्वान्टी, एकदिवसिय र प्रथम श्रेणीको खेल खेल्नेछ।
एमसीसीको टोलीको कप्तानी जिमी एडम्सले गर्ने छन्। एडम्सले ह्याम्पसायरबाट घरेलु क्रिकेट खेल्दै आएका छन्। एडम्सले पहिलोपटक नेपाल आएर खेल्न निकै उत्साहित रहेको बताएका छन्। उनले भने, ‘मैले यसअघि पनि नेपाल बेलायत टुरमा रहंदा नेपालविरुद्ध खेलिसकेको छु। पारस खड्का र सन्दीप लामिछानेबारे हामीलाई जानकारी छ। सन्दीप छिट्टै द हन्ड्रेड खेल्न इंग्ल्यान्ड आउँदैछन्।’
‘नेपालमा हामीले बलियो टोली लिएर आएका छौं र आशा गरौं अबको एक साता राम्रो क्रिकेट खेल्नेछौं। दुवै तर्फका युवा खेलाडीहरुको लागि यो राम्रो अनुभव हुने मैले विश्वास लिएको छु।’ उनले थपे। एमसीसीको १३ सदस्य टोलीमा जिमी एडम्स, यासिर अराफात, बिली गोडलमान, मिल्स हामान्ड, ओलिभर हनन्न डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल वान्डर्सपार, इड योंग, टम वेस्टली, क्रिस राइट रहेका छन्।
एमसीसीले कात्तिक १७ गते टियु क्रिकेट मैदानमा नेपाली यु–१९ विरुद्ध (५० ओभर) पहिलो खेल खेल्नेछ। कात्तिक १८ गते नेपालविरुद्ध (५० ओभर) ,कात्तिक २० देखि २२ गतेसम्म नेपालविरुद्ध (तीनदिन प्रथम श्रेणी) र कात्तिक २३ गते नेपाली यु–१९ र सिनियर टोलीको मिश्रित टोलीविरुद्ध टी–२० खेल खेल्नेछ। यी सबै खेल टियु क्रिकेट मैदानमा हुनेछ।
त्यस्तै कात्तिक २५ गते एमसीसीले पोखरा आमन्त्रित ११ विरुद्ध टी–२० र कात्तिक २६ गते चिफ मिनिस्टर विरुद्ध टी–२० खेल पोखरा क्रिकेट मैदानमा खेल्नेछ।