एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा लेभान्टेसँग बार्सिलोनाले अप्रत्याशित हार बेहोरेको छ। शनिबार राति सम्पन्न खेलमा शुरुवाती अग्रता बनाएको बार्सिलोना घरेलु टोली लेभान्टेसँग ३–१ गोलले पराजित भएकाे हाे।
साविकको विजेता बार्सिलोनाले ७ मिनेटको अन्तरमा ३ गोल गाएको थियो। लेभान्टेको जितमा जोस कम्पाना, बोर्जा मायोरल र नेमान्जा राडोजाले गोल गरेका थिए। बार्सिलोनाको लागि कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गरको थिए। खेलको ३६ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पाएको थियो। मेस्सी पेनाल्टीमा चुकेनन् र बार्सिलोनाले शुरुवाती अग्रता बनायो। लगातार आक्रमण बुनेपनि बार्सिलोनाले अन्य गोल गर्न सकिरहेको थिएन।
दोस्रो हाफको सुरुवाती समयदेखि नै लेभान्टेले बार्सिलोनालाई दबाबमा राखेको थियो। ६० औं मिनेटमा जोसे काम्पानाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए। त्यस्तै ६३ औँ मिनेटमा लेभान्टेले फेरी गोल गर्दै अग्रता बनायो। त्यस समयमा उक्त गोल बोर्जा मायोरलले गरेका थिए। ६८ औं मिनेटमा लेभान्टेले पुनः गोल गर्दा ३–१ को अग्रता लियो।
नेमान्जा राडोजाले गरेको प्रहार डिफेन्सलाई लाग्दै गोलरक्षक मार्क आन्दर टेर स्टेगनलाई झुक्याउन सफल भयो। खेलको ७४ औं मिनेटमा मेस्सीले गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उक्त गोललाई मान्यता दिएन।
यो सिजनको ला लिगामा बार्सिलोनाको यो ११ खेलमा तेस्रो हार हो। बार्सिलोनो ११ खेलबाट २२ अंकका साथ शीर्षस्थानमै छ। समान खेलबाट समान अंक जोडेको रियल मड्रिड समान अंकको साथ दोस्रो स्थानमा छ।