काठमाडौं– संसद् सचिवालयको कर्मचारी रोशनी शाही माथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दामा थुनछेक बहस शुरू भएको छ।
न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरासम्बन्धी मुद्दाको थुनछेक बहस भइरहेको छ। यसअघि शुक्रवार महराको बयान भएको थियो।
थुनछेक बहसमा महराका तर्फबाट बहस गर्न २७ जना वकिलले वकालतनामा लिएका छन्। महरा सभामुखको सरकारी निवास बालुवाटारबाट गत असोज १९ गते पक्राउ परेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध जबरजस्तीकरणी उद्योगअन्तर्गतको मुद्दा बिहीवार जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको थियो।
बयानमा महराले आफू सो दिन बेलुका रोशनी शाही नाम गरेकी ती महिला कर्मचारीको डेरा रहेको क्षेत्रमा गएको तर, घरभित्र प्रवेश नगरेको जिकिर गरेका छन्। पक्राउ परेको केही दिनपछिबाटै प्रहरीको निगरानीमा महराको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।