एजेन्सी– बेलायती कम्पनी पावर हाउस एनर्जीले यो फोहरबाट इन्धन बनाउने र त्यसको उपयोग हाइड्रोजन कारका लागि हुने जनाएको छ।
बेलायतमा हरेक वर्ष लगभग ५० लाख मेट्रिक टन प्लास्टिकको फोहर निस्कने गरेको छ। प्लास्टिकबाट बनेका पदार्थलाई साना टुक्रा गराइने र त्यसलाई ८ सय १५ डिग्री सेल्सियसको तापक्रममा तताउने काम गरिन्छ। यसले सिन्थेटिक ग्यासको उत्पादन गर्छ। त्यो हाइड्रोजन, मिथेन र कार्बन मोनोअक्साइडको मिश्रण हो।
कम्पनीका अनुसार, सिन्थेटिक ग्यासलाई बालेर बिजुली उत्पादन गर्न सकिन्छ। अथवा यसबाट हाइड्रोजन अलग्याएर वाहनहरूमा इन्धनका रूपमा उपयोग गर्न सकिन्छ। हाइड्रोजन इन्धन सेल भएका वाहन इलेक्ट्रिक मोटरबाट सञ्चालित हुन्छन्। सेललाई हाइड्रोजन र अक्सिजनको आपूर्ति हुन्जेल बिजुली उत्पन्न हुन्छ।
ब्याट्रीबाट चल्ने कारहरूको तुलनामा हाइड्रोजन इन्धनयुक्त कारका दुई फाइदा हुन्छन्। पहिलो, कारलाई लामो दूरीसम्म ड्राइभ गराउन सकिन्छ। दोस्रो, इन्धन राख्न केही समय मात्र लाग्छ भने ब्याट्रीलाई चार्ज गर्न घन्टौं लाग्छ।
पावर हाउस एनर्जीका सीईओले यातायातका लागि हाइड्रोजन राम्रो इन्धन भएको बताए। ठूला ट्रक र बसहरूका लागि भविष्यमा यस्तै इन्धन उपयोग गरिने उनको भनाइ छ। हाइड्रोजन फ्युल स्टेसन अहिले निकै कम छ र टाढा टाढा छ। बेलायतमा यस्ता स्टेसन २० भन्दा पनि कम छन्।