एजेन्सी–विश्वकै सबैभन्दा अग्लो टावर दुबइको बुर्ज खलिफामा अवस्थित छ। बलिउडका नायक शाहरुख खानलाई उक्त टावरबाट जन्मदिनको शुभकामना दिइएको छ।
शनिबार बेलुकी साहरुख अभिनित चलचित्रको गीतसँगै बुर्ज खलिफामा करिब १ मिनेट लामो भिडियो प्ले भएको थियो। जसमा ‘ह्याप्पी बर्थ डे किङ अफ बलिउड साहरुख खान’ लेखिएको थियो।
विश्वकै अग्लो टावरबाट शाहरुखलाई जन्मदिनको शुभकामना आइरहँदा धेरैले उनको स्टारडमको चर्चा समेत गरेका छन्। यसअघि भारतको स्वतन्त्रता दिवस, महात्मा गान्धीको जन्मजयन्ती र २.० चलचित्रको प्रमोशनका क्रममा मात्र बुर्ज खलिफामा भिडियो प्ले भएको थियो।
कुनै पनि कलाकारलाई विश्वकै अग्लो टावरबाट पहिलो पटक शुभकामना दिइएको हो। नायक शाहरुख खानले शनिबार आफ्नो जन्मदिन आफ्ना फ्यानहरुसँग निकै रमाईलो तरिकाले मनाए। शाहरुखको घर अगाडि शुक्रबारदेखि नै फ्यानको भिड लागेको थियो। शाहरुखले घर अगाडि शुभकामना दिन पुगेका हजारौ फ्यानलाई निकै उत्साहित भएर २ पटक अभिवादन गरेका थिए।
उनले, शनिबार बेलुका करिब ६ सय भन्दा बढी फ्यानसँग जन्मदिनको केक काटेका थिए। सो अवसरमा शाहरुखले नयाँ चलचित्रको बिषयमा भने–‘म अहिले केही कथामा काम गरिरहेको छु। केही महिनामा नै चलचित्रको केही बिषयवस्तुसँगै यसको घोषणा हुनेछ।’
जन्मदिनमा उनले चलचित्रको घोषणा गर्ने अपेक्षा धेरैले गरेका थिए। शाहरुखले यो बिषयमा भने–‘मलाई थाहा छ, तपाइहरु मेरो नयाँ चलचित्रको प्रतिक्षा गरिरहनुभएको थियो। तर, मलाई यो पनि थाहा छ कि, जुन दिन मैले चलचित्रको घोषणा गर्नेछु सो दिनलाई नै तपाइहरुले मेरो जन्मदिन भन्दा कम बनाउनुहुने छैन।’
बलिउडमा करिब ३ दशक बिताएर सुपरहिट चलचित्र दिएका शाहरुखलाई ‘किङ, बादशाह’ जस्ता उपनामले पनि चिनिन्छ।