एजेन्सी– बाथरुमलाई गोपनीयताको अन्तिम आधार मानिन्छ। तर, अब चाडै एउटा नयाँ उच्च–प्रविधियुक्त शौचालय (हाई–टेक ल्याभोटरी) ले मानिसका हरेक गतिविधिलाई ट्रयाक गर्नेछ। ‘फिटलू’ नाम दिइएको यो ट्वाइलेट युरोपेली अन्तरिक्ष नियोग (ईएसए) र म्यासाच्युटेट्स इन्स्टिच्युट अफ टेक्नोलजी (एमआईटी) का शोधकर्ताहरुले बनाउन जुटेका हुन्।
अबको चार वर्षभित्रै यसको व्यापारिक उत्पादन थालिने उनीहरुले बताएका छन्। यसलाई अर्को पिढिको स्मार्ट शौचालयको संज्ञा दिइएको छ। यो विशेष प्रविधियुक्त ट्वाइलेट मोइबाइल एपबाट सञ्चालित हुने भएकाले साँच्चिकै ‘स्मार्ट’ हुनेछ। यसले मानिसका विभिन्न रोगहरुको प्रारम्भीक संकेतहरुलाई ट्रयाकिङ र स्क्रिनिङ गर्दै मोबाइल फोन मार्फत जानकारी गराउने छ। निर्माण कम्पनिका अनुसार यो शौचालयले मानिसलाई उनीहरुको स्वास्थ्यमाथि नियन्त्रण हासिल गर्न अविश्वसनीय अवसर प्रदान गर्नेछ।
ट्वाइलेटमा प्रयोग हुने ‘प्यान’ सेन्सरयुक्त हुनेछ। ट्वाइलेट बउलमा रहेको सेन्सरहरु मार्फत् तपाईको पिसाबमा आवश्यकता भन्दा बढी प्रोटिन या ग्लुकोज निस्किरहेको भन्नेबारे पनि जानकारी यसबाट लिन सकिने शोधकर्ताहरुले बताएका छन्। बेलायती ‘एक्सप्रेस’ अनलाइनका अनुसार अन्तरिक्षमा प्रयोग भइसकेको यस प्रकारको शौचालय अब सर्वसाधारणले पनि प्रयोग गर्न सक्ने छन्। मानिसको दिशापिसाबको ‘मोनिटर’ गर्दै यसले ऊ बिरामी भए वा नभएको जानकारी समेत दिनेछ।
ईएसएका अनुशन्धानकर्ताहरुले अन्तरिक्षमा प्रयोग गरिएको प्रविधि डमेस्टिक ट्वाइलेटमा उपयोग गर्दैछन्। अन्तरिक्ष यात्रुले आफ्नो स्वास्थ्यको मनिटर गर्न धेरै पहिले यो प्रविधिको उपयोग गरिसकेका छन्। शौचालय निर्माताहरुमध्येका एक माइकलले भनेका छन, ‘मानिस जब बिरामी हुन्छन, तब मात्रै चिकित्सकहरु कहाँ पुग्ने गर्छन्। फिटलू ट्वाइलेटले तपाई बिरामी भएको कुरो पहिले नै भनिदिनेछ। तपाईलाई उपचारमा सहयोग पनि गर्नेछ।’
माइकलका अनुसार मानिसले दिनहू धेरै पटक ठूलो परिमाणमा आफ्नो स्वास्थ्यसँग सम्बन्धित जानकारी बाथरुममा फ्लस गरेर बगाई दिने गर्छन्। फिटलू स्मार्ट ट्वाइलेटले ती जानकारीहरुलाई एकत्रित गर्दै मोबाइलमा सम्प्रेषण गरिदिनेछ। हाइ–टेक शौचालयको प्रमुख विशेषताहरुमा यसले ग्लुकोजको लेभेलमा परिवर्तनबारे जानकारी दिदै रोगहरुको उपचारमा सहयोग पुर्याउनेछ। ट्वाइलेटभित्र डेटा प्रयोग गरेको अवस्थामा यसले तपाईको मोबाइल फोनमा जानकारी पठाउने छ।