एजेन्सी— प्रविधिको उच्चतम प्रयोगसँगै विश्वमा नयाँ–नयाँ उत्पादनहरु निमार्ण हुने क्रम पनि बढ्दो छ।
मानिसहरु समय अनुसार अझै सौखिन बन्दै जानु र प्रविधिले पनि चमत्कार गर्दै जानुले नयाँ आविस्कारको ढोका खोल्दै जाने गर्दछ। यसक्रममा रसियन टेक कम्पनी ‘होभरसर्फ’ ले चढेर उड्ने बाइकको व्यावसायिक उत्पादन र अग्रिम बुकिङ थालेको छ।
कम्पनीले उत्पादन गरेको ‘होबरबाइक एसथ्री २०१९’ को प्रिअर्डर सुरु गरेको हो। यो बाइकको अधिकतम गति ९६ किलोमिटर प्रति घन्टा रहेको छ। जमिनको सतहबाट ५ मिटर उचाईसम्म यसले उडान भर्न सक्छ। यो ‘स्कर्पियन होभरबाइक’ नामले समेत परिचित छ।
कम्पनीका अनुसार यो उड्ने मोटरसाइकलको मूल्य डेढ लाख अमेरिकी डलर तय गरिएको छ। आधा घन्टा भन्दा कम समय मात्र यसको उडने क्षमता छ। थोरै समयका लागि उडान भर्ने क्षमता रहेको यो बाइक मानिसका लागि ‘खतरनाक’ भएको विज्ञहरुले बताइरहेका छन्।

रिमोट–कन्ट्रोल ड्रोन मोडमा यो बाइकको उडान समय ४० मिनेटसम्म बढाउन सकिने कम्पनीका इन्जिनियरहरुले जनाएका छन्। सामान्य पार्किङ स्थलहरुमा समेत उडान भर्ने र अवतरण गर्न सक्ने क्षमता यसको रहेको छ। ट्राफिक जाम हुने सहरहरुमा ट्राफिक प्रहरीले सजिलै प्रयोग गर्न सक्छन्। यसले यातायात सेवालाई सडकमा सुचारु गराउनमा पनि ट्राफिक प्रहरीलाई सहयोग गर्नेछ।
कम्पनीका अनुसार क्रेताले एउटा होभरबाइक एसथ्री २०१९ का लागि प्रि–अर्डर स्वरुप तत्काल १० हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने हुन्छ। एक लाख ५० हजार अमेरिकी डरल मूल्य राखिएको यो होभरबाइकको बुकिङ गरेको दुई देखि ६ महिनाभित्र डेलिभरी गरिने कम्पनीले जनाएको छ।