वीरगञ्ज– किशोर गियरले ल्याएको पाँच वटा हाइब्रिड रेन्ज रोभर गाडी वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा महिनौँदेखि अलपत्र परेका छन्। आधिकारिक बिक्रेताबाट किनेको कागजात पेश गर्न नसकेको कारण ती गाडीहरुको जाँचपास हुन सकेको छैन।
दशैं शुरु हुनु अगाडि ती गाडीहरु आएका थिए। तर किशोर गियरले आधिकारिक बिक्रेताबाट किनेको कागजात पेश गर्न सकेको छैन। र किशोर गियरका सञ्चालक किशोर वादेले भने भन्सारले अनावश्यक रुपमा दुस्ख दिने नियत राखेर बखेडा झिकेको आरोप लगाएका छन्।
तर भन्सारका एक अधिकारीले उक्त आरोपकोृ खण्डन गरेका छन्। ‘हामीले गाडी मगाउने किशोर गियरसँग बिक्रेता वा डिलर भएको आधिकारिक कागजात पेश गर्न भनेका छौं। तर उहाँले अहिलेसम्म ती कागजात पेश गर्न सक्नुभएको छैन’ भन्सार अधिकारी भन्छन्।
धेरै गाडी बिक्री नहुने देशमा ल्यान्ड रोभरले आधिकारिक बिक्रेता नदिने किशोरको भनाई छ। आफूहरुले डिलरमार्फत गाडी मगाउने उनी बताउँछन्। सन् २०१६ मा डिलरसँग एग्रिमेन्ट भएको कागजात भएपनि भन्सारले त्यो कागजातलाई नमानेको उनको आरोप छ।
उनका अनुसार आफ्नो गाडी रोकिँदा झण्डै १५ करोड राजस्व राज्यले पाउनबाट बञ्चित भएको छ। सुख्खा बन्दरगाह भन्सारका सूचना अधिकारी विकास कुमारले एक महिनादेखि थन्किएका गाडीको आवश्यक कागजात नभएकाले रोकिएको बताउँदै कागजात ल्याउनेवित्तिकै जाँचपास हुने जानकारी दिएका छन्।
त्यस्तै अर्को तर्फ आवश्यक कागजात ल्याउन नसकेका कारण दुई महिनादेखि एउटा टेस्ला र तीन वटा विद्युतीय ज्यागुआर छुटेका छैनन्। विद्युतीय ज्यागुअर कार काठमाडौंको किशोर गियर र अमेरिकन कम्पनी टेस्ला मोटर्सले उत्पादन गरेको इलेक्ट्रिक टेस्ला कार वेस्टार ग्यालेक्सी ट्रेडिङले आयात गरेको थियो।
ज्यागुआर र टेस्लाको कार बेलायतको जेम्सन कार्टर लिमिटेडबाट आयात गरिएको हो। जेम्सन कार्टर राज वेदीले सञ्चालन गर्ने कार रिटेलर कम्पनी हो। यही कम्पनीबाट जर्मन कम्पनी आउडी तीन वटा विद्युतीय गाडी प्रिन्सा अटोमोटिभले आयात गरेको थियो। प्रिन्साले गैरकानुनी रुपमा आउडी गाडी ल्याएर बिक्री समेत गरिसकेको छ।
नयाँ सवारी साधन आयातको लागि नेपालमादुई वटा बाटा छन्। कि निर्माता कम्पनीले नेपालमा कुनै कम्पनीलाई आधिकारिक बिक्रेता नियुक्त गरेर त्यसमार्फत सवारी साधनको आयात गर्नुपर्छ कि त निर्माता कम्पनीले नेपालका लागि विदेशस्थित कम्पनीलाई आधिकारिक विक्रेता तोकेर त्यही आधिकारिक विक्रेताले नेपालमा नियुक्त गरेको आधिकारिक विक्रेतामार्फत सवारी साधन आयात गर्नुपर्छ। तर अहिले गाडी आयात गर्ने कम्पनीले आधिकारिक बिक्रेता नभई आफुखुशी ल्याउन खोजेका कारण समस्या उप्पन्न भएको बताइन्छ।
अर्थमन्त्रालय स्रोतका अनुसार रिटेलर कम्पनीबाट गाडी आयात गरेर बिक्री गर्न पाईँदैन्। यसरी आयात भएको गाडी जफत गर्न सक्ने समेत अधिकार ऐनले भन्सार विभागलाई दिएको छ।