एजेन्सी– चर्चित बलिउड अभिनेता शाहीद कपूर चलचित्र ‘कबिर सिंह’को सफलतापछि तेलुगु चलचित्र ‘जर्सी’ को हिन्दी रिमेकको तयारीमा लागेका छन्।
गौतम तिन्नापुरीको निर्देशन रहेको तेलुगु चलचित्र ‘जर्सी’ २०१९ को अप्रिलमा रिलिज भएको थियो। तिन्नापुरीकै निर्देशनमा ‘जर्सी’ को हिन्दी रिमेक बन्न लागेको हो। जसमा शाहिद कपूरको मुख्य भूमिका रहनेछ।
‘जर्सी’ एक क्रिकेटरको कथामा आधारित फिल्म हो। जो आफ्नो असफल क्रिकेट करियरलाई बढ्दो उमेरका बाबजुद अघि बढाउन चाहन्छ।
जसका लागि शाहिदले क्रिकेटको कोचिङ लिन सुरु गरेका छन्। चलचित्रमा आफ्नो भूमिकालाई न्याय दिनका लागि उनले क्रिकेटको कोचिङ लिन सुरु गरेका हुन्।
आफ्नो आगामी चलचित्रको बारेमा बोल्दै शाहिदले भने, ‘कबिर सिंहपछि मैले अब के गर्नुपर्छ भन्ने बारे सोच्न मलाई समय लाग्यो। जब मैले ‘जर्सी’ हेरेँ तब मैले सोचिसकेको थिएँ, मेरो आगामी चलचिल यहि हो। यो एक गजबको प्रेरक चलचित्र हो र एक यस्तो मान्छेको कथा हो, जुन मसँग धेरै हदसम्म मिल्छ।’
चलचित्रको शुटिङ आगामी महिना चण्डिगढमा शुरु हुनेछ,भने २०२० को अगष्ट २८ मा रिलिज हुनेछ। यसैबिच शाहीदको एक तस्बिर सार्वजनिक भएको छ, जसमा उनी हातमा ब्याट लिएको अवस्थामा देखिन्छन्।
केही समयअघि प्रदर्शनमा आएको शाहीद कपूरको मुख्य अभिनय रहेको चलचित्र ‘कबिर सिंह’ तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक हो। जुन उनको एकदमै सफल चलचित्र पनि हो।