एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनसँग बराबरी खेलेको छ। अग्रतालाई अन्तिम समयसम्म जोगाउन नसक्दा टोटनह्याम अंक बाँड्न बाध्य भएको हो।
आइतबार राति गुडिसन पार्कमा भएको रोमाञ्चक तथा प्रतिस्पर्धात्मके खेलमा दुबै टोलीले पहिलो हाफमा गोल गर्न सकेका थिएनन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गरेका थिए। खेलको ६३ औं मिनेटमा टोटनह्यामले शुरुवाती अग्रता लिएको थियो। उसका लागि ह्युङ मिन सनको पासमा डेल अलीले गोल गरेका थिए।
आन्द्र गोमेजमाथि फल गरेपछि सनले रातो कार्ड पाएसँगै ७९ औं मिनेटमा टोटेनह्याम १० खेलाडीमा समेटियो। खेलमा १२ मिनेट इन्ज्युरी समयकाे रुपमा थपिएको थियो। हारको मुखमा पुगिसकेको एभर्टनको लागि इन्ज्युरी समयको आठौं मिनेटमा लुकास डिग्नेको पासमा सेन्क टोसुमले गोल गर्दै बराबरी गोल गरेका थिए।
यस बराबरीसँगै टोटनह्याम ११ खेलबाट १३ अंक जोडेर ११औं स्थानमा छ भने एभर्टन ११ अंकसहित १७ औं स्थानमा छ।